स्थानीय तह निर्वाचन २०७९

दैलेखको गुराँस गाउँपालिकाका पदाधिकारीद्वारा पदभार ग्रहण

इकागज |
जेठ ७, २०७९ शनिबार १२:२० बजे

सुर्खेत–दैलेखको गुराँस गाउँपालिकामा निर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गरेका छन् । शुक्रवार एक समारोहबीच अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका  हुन्  ।

पदभार ग्रहण गरेसँगै  विभिन्न निर्णयसमेत भएका छन् । निर्णयअनुसार अब गुराँस गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहन स्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य वीमा लगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने भएको छ ।


यसैगरी, गुराँस गाउँपालिकामा यसअघि प्रभु बैङ्कको रानीमत्तास्थित शाखा मार्फत जेष्ठ नागरिक सहितका सबैखाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएकोमा अब भने भौगोलिक विकटताको कारण बैङ्कसँग समन्वय गरी सम्बन्धित वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाका अनुसार यस गुराँस गाउँपालिकाको केन्द्र लगायत विभिन्न भागहरुमा दुरसञ्चार प्रदायक मोवाइल नेटवर्कको पहुँच नपुगेकाले जनस्तरमा असर परेको हुँदा दुरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी उक्त समस्या समाधान गर्ने निर्णयसमेत भएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार कक्षा १० जोड २ सञ्चालन भएका विद्यालयहरुमा बार्षिक परीक्षाको कार्यक्रम तय भैसकेको र उक्त परिक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा तत्कालै फर्निचर व्यवस्थापन गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x