स्थानीय तह निर्वाचन २०७९

बादी समुदायका पहिलो मेयर भन्छन्- एकछाक मात्र खाएर गुजारा गर्नेहरूले भोकै बस्न पर्दैन

बादी भनेर हराउन खोज्नेहरू विरुद्ध जितेँ

लक्ष्मी भण्डारी |
जेठ ६, २०७९ शुक्रबार १४:१ बजे

सुर्खेत - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बादी समुदायका व्यक्ति मेयरमा विजयी भएका छन् । नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पुष्प बादी मेयरमा निर्वाचित भएका हुन् । काँग्रेस–एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी मेयरमा विजयी भए।

प्रमुखमा विजयी बादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए ।


बादी समुदायबाट मेयरको नेतृत्व गर्ने पुष्प पहिलो मेयर हुन् । आफ्नो समुदायको व्यक्ति नेतृत्वमा पुगेपछि बादी समुदाय खुसी भएका छन् । उनले चौरजहारीको समृद्धि सँगै सीमान्तीकृत तथा बादी समुदायलाई विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।

‘यो क्षेत्रमा सीमान्तीकृत र उत्पीडित वर्गहरू छन् । उनीहरूका लागि काम गर्नेछु’ उनी भन्छन्, ‘एकछाक मात्र खाएर गुजारा गर्नेहरूलाई भोकै बस्न पर्दैन ।’

उनले सर्वप्रथम त जनताका आधारभूत आवश्यकताहरू परिपुर्तिका लागि लागिपर्ने बताएका छन् । गाँस, बास कपाससँगै खानेपानी, विद्युत, सिँचाई र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

नि:शुल्क स्वास्थ्य बिमासँगै विद्यालयमा इन्टरनेटको विस्तारलाई ध्यान दिने उनले प्रतिवद्धता जनाएका छन् । २०५० सालदेखि दलित मुक्ति मोर्चाबाट आफ्नो राजनीति यात्रा अघि बढाएका पुष्पले मोर्चाका विभिन्न पदमा बसेर काम गरे ।

बादी उत्थान समिति लगायतका विभिन्न समितिमा आवद्ध भएर उत्पीडित वर्गहरूका आवाज उठाउँदै आएका पुष्प नेकपा माओवादी पार्टीका सदस्य, नगर इन्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्यमा रहेर काम गरे ।

स्थानीय निकायको निर्वाचनमा माओवादीबाट उम्मेदवार दिएका उनले विजयी भएर छाडे । अन्य उम्मेदवारहरूलाई पछाडि पार्दै मेयरमा जित्न सफल उनी भन्छन् ‘बादी भनेर हराउन खोज्नेहरूविरुद्ध मैले जितेँ ।’ उनी नगरबासीको विश्वास दिएर दिएको मतको सदुपयोग गरी उनीहरूका सपना पुरा गर्नको लागि प्रतिवद्ध भएको बताए ।


Author

थप समाचार
x