स्थानीय तह निर्वाचन २०७९

धरान उपमहानगरमा पनि ‘लौरो’ अघि, रुख र सुर्य पछि

बाबुराम भण्डारी |
जेठ ५, २०७९ बिहिवार १२:२५ बजे

विराटनगर– देशको संघीय राजनधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले अग्रता फराकिलो बनाइरहेका बेला प्रदेश १ का दुई उपमहानगरपालिकामध्ये धरानमा पनि लौरो चुनाव चिह्नधारी मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

बिहीबार अपरान्ह ११ बजेसम्मको मत परिणामअनुसार धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)सँग कांग्रेसका उम्मेदवार किशोर राई १४७ मत र नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारी (सुवेदी) १ हजार ७८९ मतले पछि परेकी छन् ।


साम्पाङले ८ हजार ६१६ मत प्राप्त गर्दा कांग्रेसका किशोरले ८ हजार ४३७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मन्जु भण्डारी (सुवेदी)ले ६ हजार ८२७ मत ल्याएकी छन् ।

धरानमा ९९ हजार २८१ मतदाता रहेका छन् । जसमध्ये ६२ हजार ८९८ मत खसेको जनाइएको छ । धरानमा वडा नं ११ को मतगणना सकिएको छ भने वडा नंं ८ र ११ को गणना जारी रहेको छ । वडा नम्बर २० को गणना स्थगित छ । २० वटा वडामध्ये वडा नम्बर ६ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

अहिलेसम्म नेकपा एमालेले ६ वटा वडामा वडाध्यक्ष जित्दा कांग्रेससहितको गठबन्धनले ४ वटा वडाध्यक्ष जितेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x