स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

कर्णालीमा दोहोरिएका उम्मेदवारको पराजय

लक्ष्मी भण्डारी |
जेठ ३, २०७९ मंगलबार १७:३३ बजे

सुर्खेत - गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपाकुमारी बिसी नेपाली कांग्रेसबाट पुन उम्मेदवारी दिए । अध्यक्ष र उपाध्यक्ष पदबाट राजीनामा दिएर सोही पदमा उम्मेदवारी दिएका दुवै उम्मेदवारले पराजय भोग्नुपर्‍यो ।  एमालेबाट उम्मेदवार बनेका अध्यक्षमा टोपबहादुर बिसी र उपाध्यक्षमा सिवाकुमारी खड्का निर्वाचित भएका छन् ।

यसअघि कांग्रेसको राम्रो जनाधार क्षेत्र भएको मानिने गाउँपालिकामा अहिले ६ वडासहित पालिका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) ले जितेको  छ । आठ वटा वडा रहेको गुराँसमा यसपटक कांग्रेसले दुई वटा वडा मात्र जितेको छ । 


दैलेखको डुङ्गेश्वर गाउँपालिकामा निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ल कांग्रेसबाट पुनः उही पदमा उम्म्मेदवार बने । अघिल्लो निर्वाचनमा लोकप्रिय मत ल्याएर विजयी भएका मल्ल  यसपालि भने पराजय बेहोर्नुपर्‍यो  ।

उनलाई एमालेका सुन्दरकुमार केसीले हराएका हुन् । २०७४ को निर्वाचनमा यहाँ अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अहिले अध्यक्ष र उपाध्ययक्षसहित बहुमत वडा एमालेले लिएको छ । उक्त पालिकाका कतिपय वडाका जनप्रतिनिधिसमेत पुनः उम्मेदवार बनेका थिए । दोरिएकामध्ये धेरै पराजित भएका हुन् ।

सुर्खेतका बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत यसपालि वडा सदस्यको पदमा उम्मेदवारी दिए । बहालवाला गाउँपालिकाका अध्यक्ष समेत रहेका बस्नेत वडा सदस्यमा पराजित भए । जिल्ला समन्वय समितिको प्रमुखको प्रमुखमा जाने लक्ष्यका साथ वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेत वडा सदस्यमै पराजित हुनुपर्‍यो । 

गुर्भाकोट नगरपालिका वडा नम्वर नौ का वडा अध्यक्षले पनि अहिलेको निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवारी दिए । एमालेबाट अध्यक्षको उम्मेदवारी दिएका उनलाई काँग्रेसका उम्मेदवार ज्ञानबहादुर खत्रीले पराजित गराए । 

नौमुले गाउँपालिकाका निवर्तमान अध्यक्ष भदे बुढा मगर अहिले पनि अध्यक्षको उम्मेदवार थिए । कांग्रेसबाट उम्मेदवार बनेका उनी यसपटक भने पराजित भएका छन् । त्यहाँ नेकपा ‐माओवादी केन्द्र) का छविराम सुवेदी पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल थियो । दैलेखकै महाबु गाउँपालिकका निवर्तमान अध्यक्ष जंगबहादुर शाही दोस्रो कार्यकालका लागि यसपटक नेकपा ‐एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका लछुमन गुरुङ्गले पराजित गरेका छन् । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित शाही पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो । यसपालि सोही पदमा चुनाव लडेका दैलेखका चार पालिकाका निवर्तमान अध्यक्षहरू पराजित भएका छन् । 

यी केही प्रतिनिधिमूलक जनप्रतिनिधि हुन् । जसले उही पदमा दोहोरिन खोज्दा पराजय भोग्नुपर्‍यो । कर्णालीका ७९ स्थानीय तहहरुमा झन्डै ४० प्रतिशत जनप्रतिनिधिले कार्यकाल नसकिँदै फेरि चुनाव लड्न राजीनामा दिएर चुनावमा उठेका थिए । 

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मत परिणामको प्रारम्भिक संकेतले दोहोरिन खोजेका जनप्रतिनिधिहरु मतदाताको रोजाइमा परेनन् । पालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भएका हुन् ।

२०७४ को निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका कतिपय पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूले यसपटक हार बेहोर्नुपरेको हो । पार्टीको राम्रै जनाधार भएका ठाउँमा पनि त्यस्ता उम्मेदवारको मत निकै कमजोर देखिएको छ । हालसम्मको नतिजा हेर्दा एक कार्यकाल परीक्षण भइसकेका भन्दा नयाँ उम्मेदवारलाई मतदाताले बढी विश्वास गरेर मत दिएको पाइएको छ । 

नागरिकको इच्छाअनुसार काम नगरेकाले दोहोरिएका उम्मेदवारहरूले पराजय भोग्नुपरेको वीरेन्द्रनगर २ का मतदाता मिना केसीले बताइन् ‘विकास निर्माणका कामहरुदेखि जनताको मन जित्न सकेका छैनन’ केसीले भनिन्, ‘हाम्रो चित्त नबुझेपछि उही नेतालाई फेरि किन भोट दिनु ।’ 

यता मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन  पिताम्बर ढकालले दोहोरिने भन्दा पहिलो पटक उम्मेदवार बनेकाहरू नै निर्वाचित हुने सम्भावना बलियो देखिएको बताए ।

उनले नयाँ उम्मेदवारप्रति आसा र भरोसा गर्ने गरेको बताए । ‘दोहोरिएकाहरूलाई कामको मूल्याङ्कन गरेर मात्र भोट दिने गरिएको पाइयो,’ उनले भने, ‘जनअपेक्षा अनुसार काम भएका ठाउँमा कतिपय जनप्रतिनिधि फेरि निर्वाचित भएका उदाहरण पनि छन् ।’ जनतासँग गरेको वाचा पुरा नगरेकाले पनि जनताहरु असन्तुष्टि भएको उनले बताए । 


 


Author

थप समाचार
x