स्थानीय तह निर्वाचन २०७९

विराटनगरमा बदर मत उच्च : २८ हजार गन्दा १७ हजार बदर

मेयरमा ७ हजार र उपमेयर पदमा १० हजार मत बदर

बाबुराम भण्डारी |
जेठ ३, २०७९ मंगलबार १३:४७ बजे

विराटनगर– विराटनगर महानगरपालिकाको जारी मतगणनामा बदर मतको संख्या उल्लेख्य पाइएको छ । मंगलबार दिउँसो १२ बजेसम्म २८ हजार ८९ मत गणना सकिएको छ । जसमध्ये उपमेयर पदमा मात्रै १० हजार ७८८ मत बदर भएको पाइएको हो । मेयरमा ७ हजार २८४ मत बदर भएको छ ।


१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सकिएर परिणाम सार्वजनिक भइसकेको छ । अहिले ३, ४, ५, ६, १३, १४ र १५ को गणना जारी छ ।



मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार गणना सम्पन्न भएका वडाहरू मध्ये उपमेयर पदमा सवैभन्दा बढि वडा नम्बर १७ मा १ हजार ७६१ मत बदर भएको छ । त्यसपछि वडा नम्बर १ मा १ हजार ६२९, वडा नम्बर १९ मा १ हजार ५३८ र १८ मा १ हजार ५१२ मत बदर भएको छ । मेयर पदमा पनि वडा नम्बर १७ मै धेरै मत बदर भएको छ । 


मेयर र उपमेयर पदमा फरक(फरक दलबाट उम्मेदवार र चुनाव चिन्ह भएका कारण मतदाताहरू मतदान गर्ने समयमा अलमलिँदा बदर मतको दर बढेको हो ।  विराटनगर महानगरपालिकामा २०७४ को निर्वाचनमा पनि कुल २४ प्रतिशत मत बदर भएको थियो । मत बदर हुनुको मुख्य कारण मतदाता शिक्षाको कमि भनिएको थियो । निर्वाचन आयोगले यो निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रम समेत कटौति गरेका कारण बदर मतको प्रतिशत बढेको अनुमान गरिएको छ ।


विराटनगर यसपटक पनि बदर मतको दर उस्तै गतिमा उकालो लागेको पाइएको छ । उपमेयर पदमा ३८ दशमलव ४० र मेयरमा २५ दशमलव ९३ प्रतिशत मत बदर भएको हो । विराटनगरमा यस पटक १ लाख ३३ हजार १४२ मतदाता कायम भएकोमा ३२ प्रतिशत अर्थात ४३ हजार २४६ मतदाता मतदानमै सहभागी भएका छैनन् । 
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार विराटनगरमा ८९ हजार ८९६ मत खसेको छ । खसेको मतमध्ये २८ हजार मत गणना हुँदा विराटनगरको मेयर र उपमेयरमा कुल ६४ दशमलव ३३ प्रतिशत मत बदर भइसकेको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार विराटनगरको मत गणना भइसकेको वडा नं। १ मा मेयरमा ८७५, २ मा ४५०, १६ मा ७५६, १७ मा १७०१, १८ मा ११२५ र १९ मा ८५३ मत बदर भएको जनाइएको छ । उपमेयरतर्फ वडा नम्बर १ मा १६२९, २ मा ८३७, १६ मा ११०२, १७ मा १७६१, १८ मा १५१२ र १९ मा १५३८ मत बदर भएको हो ।


महानगरमा नेपाली कांग्रेसबाट नागेश कोइराला, एमालेबाट सागर थापा, राप्रपाका प्रह्लाद साह र स्वतन्त्र उम्मेदवार उमेश यादव मेयर पदका मुख्य प्रतिस्पर्धी रहेका छन् । त्यसैगरी उपमेयर पदमा जनता समाजवादी पार्टीबाट अमरेन्द्र यादव, एमालेकी शिल्पा निराला कार्की, राप्रपाकी बिन्दा लुइँटेल आचार्य र स्वतन्त्रकी नमिता न्यौपाने मतान्तरमा प्रतिस्पर्धी रहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x