शिक्षा

सातामा दुई दिन बिदाः निजी शैक्षिक संस्थाले नमान्ने

इकागज |
बैशाख १९, २०७९ सोमबार ६:३३ बजे

काठमाडौँ - निजी शैक्षिक संस्थाहरूले सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । सातामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाव पर्ने र समयमै कोर्स नसकिने भन्दै उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

निजी शैक्षिक क्षेत्रसँग कुनै छलफल नै नगरी सरकारले अव्यवहारिक निर्णय गरेको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले बताए । उनले निजी शैक्षिक संस्था शनिबार बाहेकका दिन खुल्ने बताए ।


‘अपर्झट निर्णय आएको छ । कुनै छलफलमा हामी सहभागी छैनौँ । दुई दिन बिदा हुँदा कोर्ष र पाठ्यक्रमअनुसार पढाइ सकिदैैन,’ उनले भने, ‘अरु सार्वजनिक बिदा पनि धेरै छन् । हामीले आइतबारलाई बिदाको रुपमा मानेर जाने सम्भावना कम छ । सार्वजनिक बिदा कटाउने हो भने यसलाई निरन्तरता दिन सकिन्छ । हामी पढाउनेछौँ ।’

त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले सातामा दुई दिन बिदा दिने निर्णय विद्यालयको हकमा लागू गर्न नसकिने बताए ।

‘मिडियामा आएपछि मात्रै हामीले निर्णयबारे थाहा पायौँ । सरकारको निर्णय अव्यवहारिक छ । निजीक्षेत्रमा काम गर्ने मजदुरलाई दुई दिन बिदा आवश्यक छैन,’ उनले भने, ‘कोरोनाका कारण शिक्षा क्षेत्र धेरै तल पुगिसकेको अवस्थाबाट भर्खर लयमा फर्किएको छ । यस्तो बेलामा राज्यले यस्तो किसिमको निर्णय गर्नु दुर्भाग्यपूर्ण कुरा हो ।’ न्युज एजेन्सी नेपालसँगको कुरकानीका आधारित


Author

थप समाचार
x