शिक्षा

परीक्षा दिनभन्दा केन्द्र धाउन चिन्ता

सरिता दाहाल |
बैशाख ८, २०७९ बिहीबार २०:३४ बजे

फाइल फोटो

मकवानपुर -  मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यामिक विद्यालयमा छात्रा सुइन्द्र घिमिरे भोलिबाट सुरु हुने विद्यालय शिक्षा परिक्षाको लागि गाउँपालिकाको वडा न. ३ स्थित भानु माध्यमिक विद्यालय नजिक आइपुगेका छन् । 

मान्यतः उनलाई आफ्नो घरबाट भानु मावि आउन डेढ घण्टा लाग्छ । परीक्षाको बेलामा पढ्ने समय बाटोमा खर्च हुने भएपछि उनी सहजताको लागि आफन्तकोमा बसेका छन् ।


उनी एउटा उदाहरण मात्रै हुन् । मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आफ्नो बसोबास रहेको गाउँपालिका भन्दा बाहिरको विद्यालयमा निर्धारण गरिएपछि परीक्षा केन्द्र धाउन बाध्य छन् । 

उनीहरुलाई परीक्षा दिनभन्दा परीक्षा केन्द्र धाउन समस्या हुने अभिभावक सिता घिमिरेले बताइन् । उनीहरुलाई परीक्षा दिनभन्दा परीक्षा केन्द्र धाउन कठिन बनेको छ । आवश्यक सुरक्षा व्यवस्था गर्न नसकेपछि जिल्लाको कैलाश गाउँपालिकामा एसईई परिक्षा केन्द्र छैन । 

एसईई परिक्षा केन्द्रको लागि तोकिए अनुसारको विद्यार्थी संख्या, सुरक्षा चुनौति, पूर्वाधारको अभावका कारण कैलाशमा मात्रै हैन राक्सिराङ गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छैन । 

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको अनुसार भोलि अर्थात ९ बैशाखबाट सुरु हुने एसईईका लागि मकवानपुर जिल्लामा २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । मकवानपुरका १० पालिकामध्ये एसईईको केन्द्र नहुने कैलाश र राक्सिराङ गाउँपालिका मात्रै हो ।

परीक्षा केन्द्र पालिकाभन्दा बाहिर हुँदा विद्यार्थीलाई परीक्षामा सहभागी गराउन असहज हुने, कतिपय विद्यार्थी परीक्षामै सहभागी हुन समेत नपाउने अवस्था समेत रहेको कैलाश गाउँपालिका–३, कालिकाटारस्थित भवानी मावि व्यवस्थापन समितिका अध्यक्ष सुन्दर राना मगरले बताए । 

उनका अनुसार विद्यार्थीलाई असहज भएको भन्दै पालिकाभित्रै परीक्षा केन्द्र निर्धारण गर्न शिक्षा विकास तथा समन्वय इकाईमा पहल गरे पनि सुनुवाई भएन । “यसैपनि विद्यार्थीलाई एसईई परिक्षा भनेपछि हाउगुजी हुन्छ, त्यसमाथि यस्तो अनावश्यक चिन्ता थप्यो” उनले भने । 

एसईईमा सहभागी हुन कैलाश गाउँपालिकाका विद्यार्थी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित परीक्षा केन्द्रमा धाउन बाध्य छन् ।

यस गाउँपालिकाको ६ वटा माध्यमिक तहको विद्यालयबाट यस बर्षको एसईईमा सहभागी हुन २ सय २७ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । परीक्षा केन्द्र टाढा भएसँगै परीक्षामा सहभागी हुनकै लागि विद्यार्थीहरु होटल या आफन्तको बस्न बाध्य छन् ।

यस्तै राक्सिराङ गाउँपालिकाका ४ विद्यालयबाट २ सय ५४ जना विद्यार्थी यो बर्षको एसईईमा सहभागी हुँदैछन् । राक्सिराङ गाउँपालिकाका ४ वटै विद्यालयको परीक्षा केन्द्र मनहरी गाउँपालिकास्थित दुईवटा विद्यालयमा तोकिएको छ ।

यसै बीच राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षाको तयारी मकवानपुर जिल्लामा पूरा भएको छ । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मकवानपुरमा २४ वटा परिक्षा केन्द्रहरु तोकिएका छन् । मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुदैंछन् ।


Author

थप समाचार
x