शिक्षा

गण्डकीका ४६ हजार १९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

इकागज |
बैशाख ८, २०७९ बिहीबार १६:१६ बजे

फाइल फोटो

कास्की - गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए । 

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१ विद्यालयका १० हजार ६२१ विद्यार्थी सहभागी बन्नेछन् । जिल्लाका ११७ सामुदायिक, १५९ निजी र १५ वटा गुरुकूल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।  


त्यस्तै सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । परीक्षा सञ्चालनका लागि २२३ केन्द्राध्यक्ष, ३१२ सहायक केन्द्रध्याक्ष, दुई हजार ३११ निरीक्षक, ४५८ परीक्षा सहायक, ९२५ कार्यालय सहयोगी र करिब तीन हजार ३४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    
निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तरपुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको उहाँले जानकारी दिए । 

निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पुर्‍याइसकेको छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरूलाई अभिमुखीकरण गराइसकिएको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । रासस


Author

थप समाचार
x