शिक्षा

कम अंक ल्याउनेलाई गोल्ड मेडल

सृजना खड्का |
बैशाख ३, २०७९ शनिवार ८:५८ बजे

काठमाडौँ - पूर्वाञ्चल विश्वविद्यालयले कम प्राप्तांक आउनेलाई गोल्ड मेडल दिन लागेको छ । विश्वविद्याललयले यही आइतबार गर्न लागेको दशौँ दिक्षान्त समारोहमा सर्वोत्कृष्ट अंक ल्याउनेभन्दा कम अंक ल्याउनेलाई गोल्ड मेडल दिन लागेको हो । 

कानुन संकायतर्फबाट एल.एल.एमकी विद्यार्थी मनिता गुरुङ ८३.१२ प्रतिशत ल्याइ प्रथम भएकी थिइन् । तर, विश्वविद्यालयले युगबहादुर पाललाई गोल्ड मेडल दिने सूचना प्रकाशित गरेको छ । पालको लब्धाङ्ग पत्रमा जम्मा ७६.२५ प्रतिशत आएको विश्वविद्यालयको वेबसाइटमा प्रकाशित छ ।


गुरुङले चक्रवर्ती हबी इजुकेशन एकेडेमी कलेज अफ लबाट शैक्षिक वर्ष २०१८-२०२० मा दुई वर्षे एल.एल.एम.अध्ययन पूरा गरेकी थिइन् । उनले विश्वविद्यालयले तोकेकै समयभित्र मौखिक परीक्षासमेत दिएकी थिइन् । तर, स्वर्ण पदकका लागि भने अन्यलाई सिफारिस गरेपछि उनी दाबी विरोध लिएर युनिभर्सिटीदेखि अदालतसम्म धाइरहेकी छिन् ।

‘गोल्ड मेडलस्टिको नामावली प्रकाशित भएपछि म सर्टिफिकेट बोकेर दाबी विरोधका लागि युनिभर्सिटीसम्म गएँ,’ मनिताले इकागजसँग भनिन्, ‘तर, युनिभर्सिटीबाट हामीले केही गर्न सक्दैनौँ, यो हाम्रो होइन समितिको निर्णय हो भन्‍ने जवाफ आयो ।’ 

यसलाई उनी शैक्षिक क्षेत्रमा देखिएको विकृतिको रूपमा व्याख्या गर्छिन् । ‘हिजो अन्तिम नामावली प्रकाशित भयो तर त्यसमा पनि कुनै परिवर्तन भएर आएन,’ उनले भनिन्, ‘मैले बिना आधार दाबी गरेको होइन । यो निर्णयले म एकदमै हतोत्साहित भएकी छु । परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउँदा पनि प्रमाणपत्र बोक्दै प्रमाणित गर्न हिँड्नुपरेको छ । युनिभर्सिटी गैरजिम्मेवार हुँदा हामीले हैरानी खेप्नुपरेको छ ।’

अधिवक्ता गणेशमान प्रधान अदालतले पटक पटक यस्ता कार्य नगर्नूभन्दा पनि आदेश तथा फैसला गर्दा पनि विश्वविद्यालयले बेवास्ता गरी अदालतको अवहेलना गरेको बताउँछन् । ‘युनिभर्सिटीले एउटालाई गोल्ड मेडल दिने अदालतले त्यसलाई खारेज गर्ने काम पटक-पटक भएको छ,’ उनी भन्छन्, ‘विश्वविद्यालयको यस्तो कार्यले मेहनती र जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्छ ।’  

पूर्वाञ्चल विश्वविद्यालयको यसभन्दा अगाडि नवौं दिक्षान्त समारोहमा शैक्षिक वर्ष २०१५-२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने बिनिता पाण्डेलाई नदिइ सोफिया अधिकारीलाई दिएको थियो ।

अदालतले २०७७ माघ ८ गते दिन विश्वविद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो । त्यसैगरी सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०१४-१६ मा उत्कृष्ट ल्याउने सुभाष आचार्यलाई नदिई पूजा खत्रीलाई स्वर्ण पदक दिएपछि विश्वविद्यालय विवादमा आएको थियो । उनीहरूलाई अहिलेसम्म पनि दिक्षान्त समारोहमा सामेल गराएर मेडल दिने काम भएको छैन । 

पूर्वाञ्चल युनिभर्सिटीका सूचना अधिकारी टेकप्रसाद अधिकारी युनिभर्सिटीको आफ्नै नियम कानुन हुने बताउँछन् । ‘युनिभर्सिटीले एउटाले पाउने मेडल अर्कोलाई दिने भन्‍ने हुँदैन,’ उनी भन्छन्, ‘कतिपय प्राविधिक कुराहरू हुन्छन् । जस्तैः निश्चित समयभित्र थेसिस बुझाएको हुनुपर्छ । उहाँको विषयमा के भएको छ रेकर्ड हेरेर भेरिफाइ नगरी थाहा हुँदैन ।’

दिक्षान्त हुने भए पनि दाबी विरोध सही भए सुनुवाइ हुने उनी बताउँछन् । ‘युनिभर्सिटीले दाबी विरोधको लागि समय दिएको हुन्छ,’ उनी भन्छन्, ‘सुनुवाइ नै नगरी मेडल दिने भए सूचना निकालिरहनु जरुरी नै थिएन । यो सिस्टमले चल्ने कुरा हो कुनै एउटा व्यक्तिले गर्न मिल्ने कुरा होइन । कसैलाई चित्त नबुझेमा वा प्राविधिक समस्या आएमा अवश्य सुनुवाइ हुन्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x