शिक्षा

७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने - मन्त्री पौडेल

इकागज |
चैत २१, २०७८ सोमवार १७:५३ बजे

फाइल फोटो

नवरपरासी - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् । 

 विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए । 


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए । 

उनले भने, `विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।`

मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरे । आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए ।  

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए ।  रासस 


Author

थप समाचार
x