शिक्षा

खुसी हुने पहिलो ढोका शिक्षा हो - मन्त्री पौडेल

इकागज |
चैत ९, २०७८ बुधबार १५:० बजे

फाइल फोटो

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन् ।   


उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याए । उनले भने, `अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन ।`

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उनले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गरे ।  राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उनले बताए । 

कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राखे । हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताए ।   

    
बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् । 

अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा देशका विभिन्न स्थानबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी रहेका छन् ।  


Author

थप समाचार
x