शिक्षा

नोबेल मेडिकल कलेजबाट विद्यार्थी र अभिभावकलाई धम्की

स्थानान्तरणको माग गर्दै १० विद्यार्थीले सुरु गरे अनसन

बाबुराम भण्डारी |
फागुन १९, २०७८ बिहीबार १९:३८ बजे

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट लगातार धम्की आउन थालेपछि भर्ना हुन बाँकी रहेका १० जना विद्यार्थीहरुले एमबीबीएस अध्ययनका लागि नोबेलबाट स्थानान्तरणको माग गरेका छन् । चिकित्सा शिक्षा आयोगमार्फत काठमाडौं विश्वविद्यालयले भर्ना लिएर नोवेलमा अध्ययनका लागि पठाएका बिद्यार्थीहरुमध्ये शुल्क तिरेर अध्ययन गर्ने १० जनाले कलेज प्रशासनको धाकधम्कीपछि नोबेलबाट स्थानान्तरणको माग गर्दै आइरहेका छन्।

उनीहरुले स्थानान्तरणको माग सुनुवाई नभएपछि बिहीबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन्। चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड र निर्देशन विपरीत नोवेलले विद्यार्थीहरुसँग होस्टलवापतको शुल्क लिएको विरोधमा उनीहरुले भर्ना हुन मानेका थिएनन् । शुल्क विवादकै कारण दुई महिना लामो आन्दोलनपछि अधिकांश विद्यार्थीहरु भने कलेजसँग कति झगडामात्रै गरिरहने भन्दै भर्ना लिएर नियमित कक्षामा सामेल भएका छन्। तर उनीहरु मध्ये १० जना विद्यार्थीहरुले भने मेडिकल कलेजले सरकारको नियम पूर्णरुपमा कार्यन्वयन गर्नुपर्ने भन्दै आयोगले तोकेको भन्दा थप शुल्क नतिरी बसेका छन् ।


नोबेलले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएरमात्रै बिद्यार्थी भर्ना गरेको आन्दोलनरत विद्यार्थीहरुले दाबी गरेका छन्। त्यसबारे कुरा उठाउँदा नोबेल मेडिकल कलेज प्रशासनले फेल गर्ने धम्की दिएको आन्दोलनरत एक विद्यार्थीले बताए । यस्तो अवस्थामा नोवेलमै अध्ययन गर्दा हाम्रो शैक्षिक भविष्य सुनिश्चित नहुने हाम्रो निश्कर्ष रहेको छ, हामीले त्यस कलेजबाट अन्यत्रै शिक्षण संस्थामा स्थानान्तरणको माग गरिरहेका छौं’ एक विद्यार्थीले भनिन्, ‘यसबारे हामीले स्थानीय प्रशासन, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालयमा लिखित जानकारी गराएका छौं, तर त्यहाँबाट अहिलेसम्म कुनै पहल भएन, उल्टै हामीलाई मेडिकल कलेजबाट निरन्तर धम्की आइरहेको छ, यस्तो अवस्थामा त्यहाँ पढ्ने वातावरण नै छैन ।’

नोबेल मेडिकल कलेजले राज्यले बनाएको कुनै पनि कानुन मान्न तयार नभएको बिद्यार्थीहरुले आरोप लगाएका छन्। उनीहरुले कलेज प्रशासनका विभिन्न व्यक्तिहरुले आफू र आफ्ना अभिभावकहरुलाई फोन गरेर धम्की दिने गरेको दाबी गरेका छन् । माग सम्बोधन नभएका कारण माइतीघर मण्डलामा अनसन सुरु गरेको उनीहरुले बताए ।

बिहीबारको अनसनमा उनीहरुले प्लेकार्डमा आफ्नो माग उल्लेख गरी शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले उक्त कलेजमा पढ्न नचाहने बिद्यार्थीहरुलाई सुरक्षित रुपमा अर्को कलेजमा स्थानान्तरण गर्न काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगसँगमा माग गरिरहेका छन् । यसअघि उक्त मेडिकल कलेजले एमबीबीएस, बीडीएस र बीएनएसमा शैक्षिक बर्ष २०२०-२१ का लागि भर्ना भएर अतिरिक्त शुल्क तिर्न नमान्ने विद्यार्थीलाई सुरक्षागार्ड लगाएर गेटमै रोकेको थियो भने विद्यार्थीहरुलाई कक्षा कोठाबाट समेत निकालेको थियो ।

नोवेलले इन्टर्नसिपका नाममा २ लाख ४० हजारसहित केयू सम्वन्धन, परीक्षा शुल्क, अनिवार्य होस्टल लगायतका अतिरिक्त शिर्षकमा एमवीवीएस/विडिएस अध्ययन गर्ने विद्यार्थी र उनीहरुका अभिभावकहरुबाट थप शुल्क असुल्न दवाव दिएको थियो। आयोगले चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस तर्फ काठमाडौं उपत्यका बाहिर ४४ लाख ३६ हजार ५२ रुपैयाँ शुल्क निर्धारण गरेको थियो। तर नोवेलले तोकिएको भन्दा अतिरिक्त शिर्षकमा विद्यार्थीहरुबाट शुल्क असुल्न खोजेपछि अभिभावक र विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x