शिक्षा

प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुने

सुभाष कर्ण |
फागुन १६, २०७८ सोमबार २०:७ बजे

जनकपुरधाम –सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित श्री आधारभुत विद्यालय चिकना भोक्राहाका प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन ।
सोमबार सो विद्यालयका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै प्रधानाध्यापक राजकुमार साहलाई कार्यकक्षमा थुनेका हुन ।

विद्यार्थीहरुले पठनपाठनलगायतका माग राख्दै हिजो आइतवार विद्यालयमा तालाबन्दी गरेका थिए । तर मागप्रति सुनुवाई नभएको भन्दै गाउँभरी विद्यालयविरुद्ध नाराजुलुस गर्दै स्थानीय अभिभावकको सहयोगमा प्रधानाध्यापकलाई कार्यकक्षमा थुनेका हुन् ।


नियमित रुपमा पढाईको माग गर्दा विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष र विद्यालय व्यवस्थापनले गालीगलौज जस्ता दुव्र्यवहार गर्दै आएको कारण बाध्य भएर विद्यालयमा तालाबन्दी र प्रधानाध्यापकलाई कार्यकक्षमा थुन्नु परेको कक्षामा ९ मा अध्ययनरत विद्यार्थी विकासकुमार साहले बताए ।

उनले आफूहरुको माग सुनुवाइ गर्नुको सट्टा विभिन्न बनाई बनाई समस्या समाधान नगरी अल्झाउदै आएको आरोपसमेत लगाए ।

उता प्रधानाध्यापक साहले पठनपाठन नियमित नभईरहेको स्वीकार गर्दै भने दरबन्दी अनुसारको शिक्षक छैन, निजी श्रोतमा केही शिक्षक राखेपनि त्यो नियमित रुपमा विद्यालय नआउने गरेको कारण यस्तो समस्या आएको हो ।

शिक्षक पूर्तिका लागि व्यवस्थापन समिति र नगरको शिक्षा समितिलाई पटकपटक जानकारी गराएपनि कुनै चासो नलिइएको उनले बताए। निजी स्रोतमा राखिएका शिक्षकहरुको तलब खुवाउन धौ धौ परिरहेको अवस्था रहेको गुनासो समेत उनले गरे ।

सो विद्यालयमा पठन पाठन नियमित गर्न महिनौदेखि विद्यार्थीहरु आन्दोलन गर्दै आएका छन् । अभिभावकहरुले प्रधानाध्यापक साह वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिको निर्देशनानुसार काम गर्दै आएको गुनासो गरेका छन् ।

 
 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x