शिक्षा

दबाब सहन नसकेपछि विद्यालय बन्द

इकागज |
जेठ २०, २०८० शनिबार २१:२१ बजे

चुरेमकवानपुर- बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा लागेको हेटौंडा उपमहानगरपालिका बालबालिकाको सवालमा महत्त्वपूर्ण निर्णय गर्न पटकपटक चुक्दै आएको छ, पछिल्लो उदाहरण हो गर्मी बिदाको सवाल ।

पछिल्लो साता ह्वात्तै बढेको तापक्रमले जनजीवन कष्टकर भइरहेको बेला विद्यालय बन्द गर्ने वा चलाउने सवालमा मौन रह्यो । बालबालिकालाई विद्यालयमा उपस्थित गराई पठनपाठन गराउन नसक्ने अवस्थामा समेत नगरपालिका गैरजिम्मेवार भएको चौतर्फी दबाब आएपछि हेटौंडा उपमहानगरपालिकाले अन्ततः शनिबार अबेर सूचना जारी गर्दै विद्यालय बन्दाको घोषणा गर्यो ।


विगत केही दिन अघिदेखि तापक्रममा अत्यधिक वृद्धि भई दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको अवस्थामा विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा अझै बढी असर परिरहेको छ ।

विद्यार्थीहरूमा बान्ता हुने, थकान महसुस हुने साथै बेहोसीको समस्यासमेत देखिन थालेपछि केही दिनका लागि गर्मी विदाका लागि विद्यालय तथा विद्यालय शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरू र अभिभावकहरूको समेत अनुरोध गरेका थिए । 

आइतबार नगर कार्यपालिकाको बैठकमा यसबारे सवाल उठाउँदा बेवास्ता गरिएको थियो । दबाब खेप्न नसकेपछि  शैक्षिक वर्ष २०८० को वर्षे बिदाबाट कट्टी हुने गरी मिति २०८० / ०२ / २१ देखि २०८० / ०२ / २६ गतेसम्म उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द रहने भन्दै मेयरको आदेश अनुसारको व्यहोराको सूचना जारी गरिएको हो ।

विदाका समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउन, बालबालिकाहरूलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्न बालबालिकालाई पोषणयुक्त खाना खुवाउन, जंकफुड, स्वास्थ्यलाई प्रतिकूल असर गर्ने खानेकुराहरू खान नदिन नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन समेत सूचनामा भनिएको छ । 

हेटौंडा उपमहानगरपालिकाले शुक्रबार गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गर्ने जिम्मा वडालाई दिएको  थियो । शुक्रबारको नगर कार्यपालिकाको बैठकले वडालाई स्कुल बन्दको निर्णय गर्न भनेको थियो । सोही अनुसार शनिबार वडा नम्बर ४, ५ र १० ले स्कुल बन्दको निर्णय गरिसकेका थिए । 

धमाघम वडाले स्कुल बन्दको निर्णय गरेपछि उपमहानगरपालिकाको विरोध जनमानसले गरेका थिए । शनिबार साँझ उपमहानगरपालिकाको फेसबुक पेज हेलो हेटौंडा उपमहानगरपालिका मार्फत सार्वजनिक सूचनामा गर्मीका कारण जेठ २१ देखि २६ गतेसम्म उपमहानगरपालिकाका सबै विद्यालयको पठनपाठन बन्द रहने तर मौसम अनुकूल भए जुनसुकै समयमा पनि विद्यालय खोल्न सकिने जनाएको छ ।

शुक्रबार वास्तै नगरेको तर, शनिबार सूचना जारी गरिएपछि शिक्षकहरूले पनि यसलाई अदूरदर्शी निर्णय भनेका छन् । 'यही निर्णय हिजो ( शुक्रबार) स्कुल टाइम भित्र दिएको भए सूचना प्रभावकारी हुन्थ्यो, एक साताको गृहकार्य दिन पाइन्थ्यो, बालबालिका सिकाइ, कृयाकलापमा लाग्थे, हिजो कार्यपालिकाको बैठकमा वडालाई जिम्मा दिने आज फेरि पत्र नाटक नै छ,' श्रमिक माविका प्राध्यापक श्रीराम दाहालले भने ।

मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा विदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सबै विद्यालय विदा गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।

यसैगरी मनहरी गाउँपालिकाले बिहान पठनपाठन गराउने निर्णय गरेको छ । मनहरी गाउँपालिकाले भने बढ्दाे गर्मीका कारण बिहानी समयमा विद्यालय सन्चालन हुने गरि सूचना जारी गरेकोमा बालबालिकालाई पर्याप्त आरामको अवस्था नहुने भन्दै यसको पनि विरोध जनाइएको छ । शनिबार मकवानपुरको हेटौंडामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

हेटौंडा नगरभित्र ७३ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालयहरू छन् ।


Author

थप समाचार
x