शिक्षा

नेपालमा छुट्टै बैंकिङ अंग्रेजी कोर्सको आवश्यकताबारे आइएसिईआरमा बहस

अमेरिकाको वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारी

इकागज |
जेठ १६, २०८० मंगलबार १६:२१ बजे

काठमाडौँ- इन्स्टिच्युट अफ एड्भान्स कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आइएसिईआर)ले बैंकिङ विषयको पढाइमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसिईआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘ईन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरूसँग अन्तर्क्रिया गरेको हो ।

कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली, लेखनसीप, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयार गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुति दिएकी थिइन् ।


उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताइन् । ‘भाषा व्याकरण र शब्द भण्डार मात्र होइन । भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आउँछ । अन्तर्राष्ट्रिय सम्पर्क माध्यमका रूपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुकूल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा प्राध्यापकहरू डा. शितल ग्रीन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आइएसिईआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिवी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए । अधिकारीका अनुसार पोखरा विश्वविधालयबाट सम्बन्धन प्राप्त आइएसिईआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने विषयमा छलफल गरिरहेको छ ।

बैंकिङ विषयको अंग्रेजी विषयको विशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएको आइएसिईआरको दाबी छ ।


Author

थप समाचार
x