शिक्षा

२०२६ सालमा स्थापना भएको विद्यालयमा बल्ल माध्यमिक तह सञ्चालन

इकागज |
बैशाख १८, २०८० सोमवार ७:१८ बजे

फाइल फोटो

खोटाङ - खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु गरिएको छ ।  विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए । 

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले संकलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए । 


सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिएका छन् । 

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक÷एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।  


Author

थप समाचार
x