शिक्षा

भूकम्पले भत्किएका सिन्धुपाल्चोकका सबै विद्यालय भवन पुनःनिर्माण

इकागज |
बैशाख १२, २०८० मंगलबार १४:१३ बजे

चौतारा । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो ।    
    
भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जनाएको छ ।    
    
इकाइको तथ्याङ्कअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सयभन्दा बढी कक्षाकोठामा क्षति पुगेको थियो । विद्यालय भवन पूर्णरूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन् ।    
    
भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउँछन् ।    
    
“सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् , सुवेदीले भने, “पूर्वाधारमा कुनै कमी छैन ।” चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सनत अधिकारीले निर्माण भएका भवनको साख जोगाउनु चुनौती रहेको बताए ।    
    
“भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्”, अधिकारीले भने, “अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो ।”    
    
भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए । अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन् ।    
  



Author

थप समाचार
x