शिक्षा

देशभरका उत्कृष्ठ सयमा पाँचखालका ६ माध्यामिक विद्यालय

इकागज |
भदौ २९, २०७९ बुधबार ११:५३ बजे

काठमाडौँ - उत्कृष्ठ एक सयमा काभ्रेको पाँचखालका ६ वटा माध्यमिक विद्यालय परेका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा पाँचखालका ६ विद्यालय परेका हुन् ।

विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ (मेरिट) का आधारमा पाँचखाल नगरपालिकामा देशै भरका उत्कृष्ट एक सयमा नगरका १३ वटा माध्यमिक विद्यालयमध्ये ६ वटा विद्यालय छनौटमा परेको पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले जानकारी दिए ।


उत्कृष्ट सयमा काभ्रेको पालिकामध्ये पाँचखालको ६ वटा मावि, रोशीको १ वटा मावि, पनौतीको १ वटा र मण्डनदेउपुरको १ वटा मावि परेका छन् । पाँचखालको आजाद मावि बालुवाले ३५ नं मा पर्दै ८४ दशमलव २४ अंक, ज्ञानेश्वरी मावि अनेकोटले ४० नं मा पर्दै ८४ दशमलव २४, भक्रमदेवी मावि अनेकोटले ५० नं मा पर्दै ८३ दशमलव १८, सर्वमंगला मावि पाँचखालले ६५ नं मा पर्दै ८२ दशमलव ५१, मंहाङकाल मावि बेलाले ८१ नं मा पर्दै ८१ दशमलब ६५ र जोरपाटी मावि तिनपिप्लेले १०० नं मा पर्दै ८१ प्रतिशत ल्याएर उत्कृष्ट एक सयमा परेका हुन् ।

त्यस्तै रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा पर्दै ९० दशमलव ०९ ल्याएर काभ्रेकै उत्कृष्ठ विद्यालय बनेको छ । पनौती नगरपालिकाको भालेश्वर मावि मल्पीले २८ नं मा पर्दै ८५ दशमलव ४ तथा मण्डनदेउपुर नगरपालिकाको महाकाली मावि चैनपुरले ४४ नं मा पर्दै ८३ दशमलब ८ अंक ल्याएर उत्कृष्ट १ सयमा परेको छ ।

१३ पालिका रहेको काभ्रेमा उत्कृष्ट १ सयमा पाँचखालको ६ वटा मावि,  रोशीको १ वटा मावि, पनौतीको १ वटा र मण्डनदेउपुरको १ वटा मावि पर्दा अन्य पालिकाको भने उत्कृष्ट १ सयमा पर्न सकेनन् । उत्कृष्ठ २ सयको समिक्षा गर्ने हो भने पनि पाँचखालको अन्य ४ विद्यालय थपिन्छ । उत्कृष्ट २ सयमा पर्ने पाँचखालका अन्य विद्यालयहरूमा श्रीराम मावि कोशीदेखा ८० दशमलव ५४ अंकका साथ ११३, जनता मावि होक्से ७९ दशमलब १७ अंकका साथ १५७, कालिका मावि अनेकोट ७९ दशमलव ०९ अंकका साथ १५८, गणेशमावि भमरकोट ७९ दशमलब ०१ अंकका साथ १६० औं स्थानमा परेका छन् ।  

त्यस्तै पनौतीको भालचन्द्र मावि ८० दशमलव ९३ अंकका साथ १०१ र कुशादेवी मावि ७८ दशमलव ०२ अंकका साथ १९०, बेथानचोकको चक्रेश्वर मावि च्याम्राङबेशीले ८० दशमलव १३ अंकका साथ १२२, कृष्णगोपाल मावि महाङकाल ७९ दशमलब ०१ अंकका साथ १५९ र पार्वती मावि ढुंखर्क ७८ दशमलब ०६ अंकका साथ १८७, सञ्जीवनी मावि धुलिखेल ७८ दशमलव ७३ अंकका साथ १६९ र तेमाल गाउँपालिकाको राधाकृष्ण मावि चापाखोरी ७७ दशमलब ९२ अंकका साथ १९६ औं स्थानमा परेका छन् ।

पाँचखालका जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका सबैको सहयोगमा विद्यालयहरू उत्कृष्ट बनाउन सफल भएकोमा पाँचखालका नगरप्रमुख महेश खरेलले धन्यवाद व्यक्त गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि प्रधानाध्यापकहरूलाई सिकाइ साटासाट, नेतृत्वका विषयमा छलफल राखिएकोले उत्कृष्ट नतिजा आएको जानकारी दिए । नगरप्रमुख खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै शिक्षामा समग्र परिवर्तनको लागि प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउने तर्फ नगरपालिका उन्मुख भएको जानकारी समेत दिए । यसैको परिणाम स्वरुप विद्यालय उत्कृष्ट भएको नगरप्रमुख खरेलको भनाइ छ ।

देशका चार हजारभन्दा बढी विद्यालयलाई श्रेणकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम श्रेणीमा परेको छ । सो  विद्यालयले ९४ दशमलव ५९ अङ्क प्राप्त गर्दै प्रथम भएको थियो ।


Author

थप समाचार
x