शिक्षा

सम्झौता कार्यान्वयनको माग गर्दै विद्यालय कर्मचारी आन्दोलनमा

इकागज |
भदौ १, २०७९ बुधवार १५:५३ बजे

फाइल फोटो

भक्तपुर - नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेको र आफैले गरेको सहमति पालना नगरेका कारण काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा तिवारीले बताए । 


सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले सर्वोच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने, सरकार र महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्काल पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६ हजार ७३० र विद्यालय सहयोगीको तलब २६ हजार २१० कायम गरिनुपर्ने माग राखेको बताए ।  

त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीको हकमा पनि लागू हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकलाई दिइरहेको महँगी भत्ता दुई हजार उपलब्ध गराउनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दरबन्दीमा परिणत गरिनुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रहेर अवकाश भएका कर्मचारीलाई तहगत रुपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने लगायतको माग राखेर उनीहरुले धर्ना दिएका हुन् ।  
    
अध्यक्ष तिवारीले आज शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडि दिनभर धर्ना दिने र भोलि भदौ २ गतेदेखि केन्द्रमा तालाबन्दी गरी अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिनुभयो ।


Author

थप समाचार
x