शिक्षा

आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो नबन्‍न नगरप्रमुखलाई नेताहरूको सल्लाह

इकागज |
साउन २६, २०७९ बिहीबार २०:५८ बजे

महोत्तरी- बर्दिबास नगरपालिकामा करार बसेवाबाट पदमुक्त गरिएका शिक्षकहरूको आन्दोलन फितलो बन्दै गएको छ ।

 स्थानीय सरकारले आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो बन्न नसक्ने निष्कर्ष निकालेपछि शिक्षकहरू आन्दोलनबाट पछाडि हट्न थालेका छन् ।


 पदबहालीकाे माग गर्दै नगरपालिकाको कार्यालय परिसरमा धर्नारत शिक्षकहरूलाई दिएको समर्थनबाट  राजनैतिक दल समेत पछाडि हटेका छन्  ।

आज नै नेकपा एमाले, माओवादी केन्द्र, काङ्ग्रेसले करार सेवामा कार्यरत शिक्षकहरूलाई हटाउने निर्णय हतास, अपरिपक्व र सामुदायिक शिक्षाको मर्मविपरीत भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाए पनि दलहरू भित्रैबाट फरक अभिव्यक्ति आएका छन् ।

नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकारले करारका शिक्षकहरू हटाइ नयाँ प्रक्रियामा जाने निर्णय स्वागतयोग्य भएको बताइन ।

उनले आन्दोलनरत शिक्षकहरू नयाँ प्रक्रियामा आउनु पर्ने र सर्वदलीय भनिएको निर्णय नेकपा एमालेको आधिकारिक नभएको पनि जिकिर गरिन ।

जिल्लामा महाधिवेशन नभएसम्म नगर कमिटी समेत नरहेको बताउँदै नेतृ ढुंगानाले कसैले हस्ताक्षर गर्दैमा आधिकारिक नहुने उनको भनाइ छ ।

सरिता ढुंगानाको तर्कमा अर्का नेता सन्त परियारले समेत समर्थन जनाएका छन् । केन्द्रीय सल्लाहकार समेत रहेकी नेतृ ढुंगानाको तर्क नै आधिकारिक भएको उनको भनाइ छ । 

आज नै धर्नारत शिक्षकहरूको सम्बन्धमा नगरप्रमुख प्रह्लाद क्षेत्रीले केही राजनैतिक दलका नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा लोसपाका नेता चेत कुमार थापा, नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकार आन्दोलनरत शिक्षकहरूको सम्बन्धमा लचिलो बन्नुको सट्टा नयाँ भर्ना प्रक्रियामा नै जानुपर्ने सुझाव दिएका छन् ।

सर्वदलीय भनिएको निर्णयको सम्बन्धमा समेत नेताहरूले प्रश्न उठाएका छन् । दुई वटा वा तीनवटा हस्ताक्षर बटुलेर सर्वदलीय परिभाषालाई गलत अर्थ लगाएको उनीहरूको भनाइ छ । न्युज कारखाना


Author

थप समाचार
x