शिक्षा

तीन तहको शिक्षालाई जोड दिनुपर्छ : शिक्षामन्त्री

इकागज |
साउन २०, २०७९ शुक्रवार २१:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक, प्राविधिक र उच्च शिक्षा तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्नसिप गराउने नीति ल्याइएको बताएका छन् ।

विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई ९० दिन इन्टर्न गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिए । 'तीन तहको शिक्षालाई जोड्न ९० दिन अनिवार्य इन्टर्नसिप गर्नुपर्ने सरकारको नीति तथा कार्यक्रम छ,' उनले भने, 'कार्यान्वयन गर्न कार्यदल गठन गरौँ ।'


बैठकमा शिक्षामन्त्री पौडेलले विश्वविद्यालयको आ-आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिए । 'तालाबन्दीले विश्वविद्यालय थिलथिलो बनाएको छ । त्यसैले तालाबन्दी अन्त्यका लागि आ-आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिएको छु,' उनले भने । मन्त्री पौडेलले ऐनमा व्यवस्था गरेर लानका लागि समय लाग्ने भएकाले ऐनमा व्यवस्था नभएसम्म वार्ताबाट समाधान गर्न, तालाबन्दीको कारण कुनै पनि काम प्रभावित हुन नदिने उपाय अपनाउन निर्देशन दिए ।

यस्तै, आंशिक तथा करार कर्मचारीको समस्या विश्वविद्यालय अनुदान आयोगमार्फत समाधान गर्ने विषयमा समेत छलफल भएको छ । आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने र बाँकी रहेकालाई गोल्डेन ह्यान्ड सेकमार्फत मिलान गर्ने गरी छलफल भएको हो ।

छलफलमा सहभागी उपकुलपतिहरूले विश्वविद्यालयले बजेट पास गरे पनि अर्थले भने जति रकम नदिँदा अप्ठ्यारो पर्दै गइरहेको गुनासो गरेका थिए । विश्वविद्यालयमा भइरहेको तालाबन्दी, कर्मचारीको तलब वृद्धि, कर्मचारी दरबन्दीलगायतका विषयमा उपकुलपतिहरूले आफ्नो धारणा राखेका थिए ।


Author

थप समाचार
x