शिक्षा

त्रिविको रमिता : जाँचमा पास, जागिरमा ‘फेल’

उपेन्द्र अर्याल |
असार २०, २०७९ सोमबार १८:४६ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरूको परीक्षाको नतिजा गत मंगलबार सार्वजनिक गर्‍यो । जसमध्ये प्रशासनिक तथा प्राविधिकतर्फको १ सय ४ पदका लागि भएको परीक्षामा एक जना पनि उत्तीर्ण भएनन् । 

उपप्रशासक पदमा ४ जना माग गरिएको थियो । जसको लिखित परीक्षामा १२ जना सहभागी भए तापनि उनीहरूमध्ये कोही पनि उत्तीर्ण भएनन् । यस्तै शाखा अधिकृत पदमा ४० जना माग गरिएको थियो । जसमा ५ सय ४२ जनाले परीक्षा दिएका थिए । यसमा पनि कुनै पनि उम्मेदवार पास भएनन् । आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३ र लेखा अधिकृत १५ पदका लागि १ सय २९ जना उम्मेदवारले परीक्षा दिएका थिए । तर, यी पदमा पनि एकजना पनि उत्तीर्ण भएनन् ।


यस्तै आयोगले निकालेको नतिजामा पनि उपपुस्तकालयाध्यक्ष पदमा पनि कोही उत्तीर्ण हुन सकेका छैनन् । १ जना माग गरिएको उक्त पदमा २ जनाले परीक्षा दिएका थिए । नर्सिङ उपनियन्त्रकको एउटा पदका लागि भएको परीक्षामा ८ जनाले परीक्षा दिएका थिए । उक्त  पदमा पनि कुनै पनि उम्मेदवार पास हुन सकेनन्। 
प्रशासनिक पदमा मात्रै होइन, त्रिवि सेवा आयोगले उपप्राध्यपकका लागि गरिएको विज्ञापनमा समेत माग गरिए बमोजिम परीक्षार्थीहरू उत्तीर्ण हुँदैनन् । 

२०७६ सालमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा करीब ५ हजार जनाले विभिन्न विषयमा लिखित परीक्षा दिएका थिए । जसमा जम्मा ५ सय १३ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

सेवा आयोगले विभिन्न विषयमा १ सय ६९ उपप्राध्यापक पदका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो ।  तर, आयोगको नतिजाअनुसार धेरै विषयमा माग गरिए जति उम्मेदवार उत्तीर्ण हुन सकेनन् । आयोगले निकालेको नतिजाअनुसार व्यवस्थापन संकायमा  ४६ जना उपप्राध्यापकका लागि विज्ञापन गरेको थियो । तर, जम्मा ८ जना मात्रै उत्तीर्ण भए । उक्त परीक्षामा ४ सय ९६ जनाले परीक्षा दिएका थिए । कानुनतर्फ २१ जना उपप्राध्यापकको माग गरिएको भए तापनि नौ जना मात्र उत्तीर्ण भएका थिए । उक्त पदका लगि ४४ जनाले लिखित परीक्षा दिएका थिए । 

गणित विषयको उपप्रध्यापक पदमा एक जना पनि उत्तीर्ण भएनन् । गणित विषयमा ५ जनाका गरिएको विज्ञापनमा १ सय १२ जनाले लिखित परीक्षा दिएका थिए ।
कम्प्युटर विज्ञान विषयमा १६ जना उपप्राध्यापक माग गरिएको थियो । तर यसमा पनि उत्तीर्ण संख्या शून्य नै भयो ।  यसबाहेक संस्कृति, ग्रामीण विकास, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रसायनशास्त्र, भौतिकशास्त्र, प्राणीशास्त्र लगायतका कुनै पनि विषयमा माग गरिए जति उम्मेदवार पास भएनन् । त्यसयता आयोगले एक पटक विज्ञापन खुलाएको भए पनि कोभिड लगायतका कारणबाट स्थगित भएको परीक्षा अझै हुन सकेको छैन । 

‘८९  प्रतिशत भन्दा बढी क्याम्पसहरू त्रिविकै मातहतमा छ,’ उनले भने, ‘त्यहाँबाट २९ प्रतिशत मात्रै पास हुन्छन् भने जागिर खाने ठाउँमा १२ आउनु त राम्रै हो । त्यसैले यो परीक्षार्थी फेल भएको होइन ।’

त्रिवि सेवा आयोगमा मात्रै होइन, शिक्षक सेवा आयोगले गत चैतमा सञ्चालन गरेको माध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाको पहिलो पत्रमा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भए । 

कतिपय विषयमा माग गरे जति परीक्षार्थी पनि उत्तीर्ण भएनन् । पहिलो परीक्षामा पास गर्नेले मात्रै दोस्रो परीक्षामा दिन पाउने प्रावधान आयोगले गरेको छ । पहिलो पत्रको परीक्षामा उत्तीर्ण हुन ५० अंक ल्याउनुपर्ने प्रावधान छ । तर माग गरिएको शिक्षक संख्या जतिले पनि ५० अंक ल्याउन सकेनन् । यस्तै आयोगले २०७६ सालमा लिएको माध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा पाँच प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । 

त्रिवि सेवा आयोग र शिक्षा सेवा आयोगको तथ्यांकमा मात्रै होइन, लोक सेवा आयोगले लिने निजामती सेवा र विभिन्न संस्थानको परीक्षामा समेत विज्ञापन गरीएको जति परीक्षार्थी पास हुन सकेका छैनन् । लोक सेवा आयोगले लिने कानुन क्षेत्र लगायतका थुप्रै पदमा माग गरेअनुसार परीक्षार्थीहरू पास हुन नसक्दा ती पदहरू रिक्त रहेका छन् । 

तर, देशमा यत्तिका पदहरू रिक्त रहिरहँदा पनि हजारौँ मानिस श्रमिकका रुपमा काम गर्न बाह्य देश जान बाध्य छन् । सरकारको पन्ध्रौँ योजनाअनुसार नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । तर, स्वदेशमा रोजगारको अभावका कारण धेरै श्रमशक्ति बाहिरिन्छन् ।  

सरकारकै तथ्यांकअनुसार दैनिक करिब १ हजार युवा विदेशिने गरेका छन् । तिनीहरूको कमाइले देशको कुल गार्हस्थ उत्पादनमा २५.४ प्रतिशत सहयोग गर्छ । नेपालमा वर्तमान श्रम शक्तिको ३६.५ प्रतिशतले मात्रै रोजगारी पाएका छन् । सरकारकै तथ्यांकअनुसार नेपालमा ११.४ प्रतिशत श्रम योग्य मानिस बेरोजगार छन्। 

पन्ध्रौँ योजनामा सरकारले स्वदेशी रोजगारलाई ३६.५ प्रतिशतबाट ५० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । तर, सरकारले नै रोजगारीका लागि खुलाएको पद भने वर्षेनि रिक्त रहँदा सरकारको योजना पूरा हुने देखिँदैन । देशमा यति धेरै बेरोजगार हुँदा रोजगारका लागि खुलाएको पदम परीक्षार्थी उत्तीर्ण हुन नसक्दा हाम्रो शिक्षा प्रणालीमाथि प्रश्न उठ्ने गरेका छ । विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी सोही विश्वविद्यालयले खुलाएका पदमा अनुत्तीर्ण हुँदा हाम्रा विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? भन्ने प्रश्न उठेको हो ।

हिजो विश्वविद्यालयमा पोलिटिकल पावर लगाएर छिर्थे । तिनीहरू विश्वविद्यालयमा पढाउन लायकका मान्छे छिरेका छैनन् । त्यसैले गुणस्तरीय विद्यार्थी उत्पादन हुन सकेका छैनन्

शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरू परीक्षार्थीभन्दा विश्वविद्यालय फेल भएको बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलले जनशक्ति उत्पादनमा विश्वविद्यालय फेल भएको बताए । ‘विद्यार्थी फेल भन्नु भन्दा जनशक्ति उत्पादनमा विश्वविद्यालय फेल भएका हुन्,’ उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले कस्तो जनशक्ति निकालिरहेको छु भनेर त्यसलाई विश्लेषण गर्न सकेन ।’

विश्वविद्यालयले आफ्नो वार्षिक नतिजाबारे विश्लेषण नगर्ने हुँदा यस्तो समस्या आएको उपसचिव पोखरेलको बुझाइ छ ।

‘मैले नेपालका विश्वविद्यालयहरू भनेर एउटा अध्ययन गरेको थिएँ,’ उनले भने, ‘सबै विश्वविद्यालयमा तपाईंहरूको नतिजा कस्तो छ भनेर सोधेको थिएँ ।  ११ वटै विश्वविद्यालयमा कसैले पनि राम्रोसँग रिजल्ट दिएन । यसको मतलब उहाँहरू विश्वविद्यालयको रिजल्टबारे विश्लेषण नै गर्नुहुन्न ।’

त्रिभुवन विश्वविद्यालयमा समग्रमा (प्राविधिक धारको समेत हिसाब गर्दा) हेर्दा २९ प्रतिशत मात्रै विद्यार्थी पास हुने गरेको उनको अध्ययनले बताउँछ । ‘विश्वविद्यालयकै उत्तीर्ण दर २९ प्रतिशत भएपछि ती मानिस फिल्टर भएर सार्वजनिक सेवामा प्रवेश गर्दा कति रिजल्ट आउँछ ?,’ उनी भन्छन्, ‘त्यसमध्ये पनि राम्रा विद्यार्थी हामीसँग कति अडिन्छन् ?’  त्रिभुवन विश्वविद्यालयमा अहिले ७६ प्रतिशत विद्यार्थी भएकाले यसको गुणस्तरमाथि प्रश्न गर्ने ठाउँ भएको उपसचिव पोखरेल बताउँछन् । देशको रोजगारीमा गुणस्तरीय जाँच गर्दा सँगसँगै हाम्रो शिक्षा प्रणाली पनि सुधार्नु आवश्यक रहेको उनको बुझाइ छ । ‘८९  प्रतिशत भन्दा बढी क्याम्पसहरू त्रिविकै मातहतमा छ,’ उनले भने, ‘त्यहाँबाट २९ प्रतिशत मात्रै पास हुन्छन् भने जागिर खाने ठाउँमा १२ आउनु त राम्रै हो । त्यसैले यो परीक्षार्थी फेल भएको होइन ।’

उपसचिव पोखरेलले अहिले विद्यार्थी र प्राध्यापकमा पठन संस्कृतिको कमी हुँदै गएकाले पनि विश्वविद्यालयले दक्ष जनशक्तिमा उत्पादन गर्न नसकेको बताए । 

‘हाम्रोमा पठन संस्कृति हराउँदै गयो,’ उनले भने, ‘हाम्रो विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूले पुस्तक भन्दा पनि गाइड पढ्ने बानी भयो । कसरी पास गर्नेमा मात्रै केन्द्रित भए । प्राध्यापकहरू पनि नयाँ विषहरूमा अपडेट भएनन् । उनीहरू आपूmले जुन नोटबुक पढेर पास गरे । त्यही नोटलाई अहिलेसम्म पनि पढाइरहेका छन् । त्यसले विद्यार्थीहरू पनि क्वालिफाइड भएर आएनन् ।’

निजी क्षेत्रमा पढेर आएका विद्यार्थीहरूलाई सरकारी रोजगारी आकर्षक नभएकाले आयोगका परीक्षामा उनीहरूको प्रतिस्पर्धा नभएको पोखरेलको भनाइ छ । 

चिकित्सा मानवशास्त्री सचिन घिमिरे पछिल्लो समय विश्वविद्यालयमा माग गरेका पदमा विद्यार्थी उत्तीर्ण हुन नसक्नुको एउटा कारण आयोगको परीक्षा प्रणाली भएको बताउँछन् । आयोगले विश्वविश्द्यालयको गुणस्तरीयता बढाउन परीक्षा प्रणाली कडा बताएको उनी अनुमान लगाउँछन् । 

‘पछिल्लो समय त्रिवि सेवा आयोगमा परीक्षा प्रणाली एकदमै कडा गरेको छ,’ उनले भने, ‘विश्वविद्यालयमा यस्तो अनियमिता हुनुहुँदैन । विश्वविद्यालयमा केही गुणस्तरीयता कायम राख्नुपर्छ भनेर पछिल्लो समय विश्वविद्यालयले टाइट गरिदिएको छ । यसले धेरै अनुत्तीर्ण हुने गरेको हुन सक्छ ।’ 

त्रिविले लामो समयको बेथिति कम गराउन भित्रभित्रै परीक्षा प्रणाली सुधार गरेको उनको बुझाइ छ । अहिले राम्रो मान्छे पाए लिने नत्र पद खाली नै राखिदिने भन्ने देखियो । ‘आवेदकहरूले त्रिविले माग गरेको एउटा गुणस्तर पूरा गर्न सकिरहेका छैनन् जस्तो देखिरहेको छ,’ उनी भन्छन्, ‘हिजो विश्वविद्यालयमा पोलिटिकल पावर लगाएर छिर्थे । तिनीहरू विश्वविद्यालयमा पढाउन लायकका मान्छे छिरेका छैनन् । त्यसैले गुणस्तरीय विद्यार्थी उत्पादन हुन सकेका छैनन् ।’

राम्रो विश्वविद्यालय पढेका विद्यार्थीहरू विदेश पलायन हुने भएकाले पनि देशमा रोजगार खुलाउँदा आयोगका पद रिक्त हुने गरेको उनको भनाइ छ । उनले विश्वविद्यालयले बाह्य विश्वविद्यालयबाट अध्ययन गरेर आएर पढाउँछु भन्दा त्रिविले समकक्षता लगायतका उल्झन लगाएर पढाउन नदिने उनले दाबी गरे । 

‘राम्रो विश्वविद्यालय पढेका ज्ञान भएकाहरू नेपालमा सबै विदेश पलायन भएका छन्,’ उनले भने, ‘हाम्रो शिक्षा प्रणालीका पीडितहरूले देश धानेका छन् । मेडिकल कलेजका सबै विद्यार्थी बाहिर छन् । जुन देशको शिक्षा प्रणालीको भिक्टिमले देश धानिरहेको छ । त्यसले के गर्ने ?’

रोजगारीका लागि गुणस्तरीयता जाँच गर्न कडा परीक्षा लिँदा हाम्रा विश्वविद्यालयले त्यो स्तरको शिक्षा दिएका छन् कि छैनन् भनेर सोच्नुपर्ने उनले बताए । ‘अहिलेको पाठ्यक्रमअनुसार अंग्रेजीमा राम्रो लेख्यो भने त्यो पास हुने छ,’ उनी भन्छन्, ‘तर, के राम्रो अंग्रेजी लेख्न सिकायो त हाम्रो विश्वविद्यालयले ? यो विद्यालय शिक्षादेखिकै समस्या हो । अरु बेला पास हुन केही गर्नु नपर्ने ? अनि एक्कासि शिक्षक बन्न मेहनत गर्नुपर्ने । त्यही भएर हाम्रा विश्वविद्यालय फेल भएका हुन् ।’
 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x