शिक्षा

एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

इकागज |
जेठ १८, २०७९ बुधवार १४:५६ बजे

फाइल फोटो

पर्सा - पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका  दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । 

प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल  शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गराउने गरेको पाइएकाले विद्यालयको हस्तान्तरण प्रमाणपत्र अनिवार्य गरिएको  हो । 


एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थी उक्त विद्यालयको सहमति बिना अन्य विद्यालयलाई भर्ना हुँदा विद्यालयलाई वार्षिक लाखौँ रुपैयाँ घाटा लागिरहेको भन्दै दुवै संस्थाले यस्तो सहमति गरेका हुन् । 

अबदेखि  एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको हस्तान्तरण प्रमाणपत्र लिएर मात्र अन्य विद्यालयमा भर्ना गर्न पाउने गरी सहमति भएको एन प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । दुवै संस्थामा गरी पर्सामा करिब सय हाराहारीमा निजी विद्यालय आबद्ध रहेका छन् । रासस
 


Author

थप समाचार
x