शिक्षा

गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

इकागज |
जेठ १२, २०७९ बिहिवार २२:१ बजे

फाइल फोटो

सुदूरपश्चिम - आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । 

भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ । 


कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा संघर्ष समितिसमेत गठन गरिएको छ । समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर संकलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टै रूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ ।

कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन ।
  
नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ ।  स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भने, `नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।` 

यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ । 
रासस


Author

थप समाचार
x