सम्पादकीय

सम्पादकीय

श्रीलंका : लोकरिझ्याइँ, परिवारवाद र भ्रष्टाचारले पहिला आराम, पछि नीद हराम

इकागज |
बैशाख २८, २०७९ १७:२४ बजे

लामो समय श्रीलंकामा सत्ताको बागडोर सम्हालेको राजापाक्ष परिवार आन्दोलनरत श्रीलंकाली जनताको बर्बरताको शिकार बनेको छ । आन्दोलनरत श्रीलंकाली जनताले हालै सत्ताबाट बाहिरिएका प्रधानमन्त्री महिन्दा राजापाक्षको घरमा आगजनी गरेका छन् । सोमबारदेखि हिंसा भड्कने क्रम तीव्र बनेपछि राजापाक्षले राजीनामा दिएर पनि आक्रमणबाट जोगिन सकेनन् । राजापाक्षका भाइ गोताबाय राजापाक्ष राष्ट्रपति छन् । आन्दोलनकारीले राष्ट्रपतिको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेको छ । 

त्यसो त श्रीलंकाको सत्तामा राजापाक्षको परिवारवादले जरा गाडेको थिए । महिन्दा राजापाक्षकै भाइ भतिजा मन्त्री र सल्लाहकार थिए । राजनीतिमा परिवारवाद हावी गराएको राजापाक्ष परिवार आफ्नो पारिवारिक र राष्ट्रका लागि पनि इतिहासकै कठिन दिनहरूको सामना गरिरहेको छ ।


सत्तामा परिवारवाद हावी गराएको राजापाक्ष परिवारको लहड, उन्माद, भ्रष्टाचार आदि सबै कारणले श्रीलंकामा आर्थिक संकट गहिरिएको हो । गत मार्च महिनादेखि आर्थिक संकट चुलिएपछि श्रीलंकामा अशान्ति बढेको छ । इन्धन, औषधी लगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएपछि त्यहाँ संकट गहिरिँदै गएको छ । श्रीलंकाले तिर्नै नसक्ने विदेशी ऋणको भार उठाएको छ, जुन उसको ८० अर्ब डलरको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) को १२० प्रतिशत छ । 

लिएको ऋण अर्थतन्त्रको उत्पादनशील क्षमता विकास गर्नेगरी आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यातमा दक्षतापूर्वक उपयोग गर्न नसक्दा श्रीलंकाले ऋणको भारी त बोक्दै गयो तर तिर्ने कसरी सोचेन । विदेशी मुद्रामा लिएको बाह्य ऋण तिर्न विदेशी मुद्रा आर्जन गर्ने क्षमता पनि सोही अनुरूप बढाउनुपर्ने हुन्छ । तर बिडम्बना त्यो हुन सकेन, अनुचित लोकरिझ्याइँ र भ्रष्टाचारमा श्रीलंका चुर्लुम्म डुब्यो । 

पूर्वको मोती भनेर चिनिने श्रीलंकाका शासकले जनतामा लोकप्रिय कार्यक्रम ल्याए । लोकरिझ्याइँबाट जनसमर्थन प्राप्त गर्दै गएपछि उनीहरूलाई अकुत भ्रष्टाचारमा छुट प्राप्त हुँदै गयो । हाम्बान्टोटा बन्दरगाहमा लिएको चिनियाँ ऋण तिर्न नसकेर श्रीलंकाले ९९ वर्षका लागि उक्त बन्दरगाह सन् २०१९ को अन्त्यतिर चीनलाई जिम्मा लगाएको छ । आर्थिक प्रतिफल नहेरी निर्माण गरिएका पूर्वाधार आयोजनामा लिएको ऋणले श्रीलंका थिचिएको छ । 

कोभिड–१९ ले श्रीलंकामा पर्यटक आवागमन ठप्प भएपछि विदेशी मुद्रामा प्राप्त हुने आम्दानी कम भयो । कृषि उत्पादन अर्ग्यानिक गर्ने निर्णयले कृषि उत्पादन र यसको निर्यातमा ठूलो ह्रास आयो । त्यस्तै आसेपासे पोस्न कर कटौती गर्दा सार्वजनिक खर्च धान्ने राजस्व प्राप्तिमा कमी आएको छ ।

नेपालमा पनि लोकरिझ्याइँका दुई–चारओटा कार्यक्रम घोषणा गर्ने, मुलुकको राजस्व प्राप्तिको क्षमता नहेर्ने, त्यही कार्यक्रम बेचेर सत्तामा उक्लेर बेरोकतोक भ्रष्टाचारमा लिप्त भएका सरकार देखिएकै हुन् । अर्कोतर्फ, नेपाली राजनीतिमा पनि परिवारवादले जरा गाडेको छ । राजनीतिमा नयाँ मान्छेलाई रोक्ने र परिवारकै सदस्यलाई अघि बढाएर भ्रष्टाचारको स्रोतमा मुख गाडिरहने राजनीतिक प्रवृत्तिले मुलुकलाई खोक्रो बनाउन सक्छ । 

यतिबेला नेपालले पनि श्रीलंकाकै जस्तो कुशासन, अव्यवस्था अनि बेरोकतोक भ्रष्टाचारको सामना गरिरहेका छ । श्रीलंकामा शासकले भ्रष्टाचार गर्नकै निमित्त आर्थिक सम्भाव्यता नै नभएका पूर्वाधार आयोजना निर्माणको निर्णय गरेर भ्रष्टाचार गरेजस्तै नेपालमा पनि विदेशी मुद्रा सञ्चिति कम भएको बेलामा कमिसन खानका लागि सरकारको नेतृत्वमा रहनेहरूले हेलिकप्टर किन्नेदेखि सुपारी आयात खुलाउनेसम्मका निर्णय गरिरहेका छन् । 

विदेशी मुद्रा सञ्चितिले नेपालको साढे ६ महिना मात्र आयात धान्न पुग्छ । यदि हामीले विदेशी मुद्रा आर्जन वृद्धि गर्न सकेनौं भने ढिलो-चाँडो हामी पनि श्रीलंकाकै बाटोमा पुग्छौं । श्रीलंकाबाट नेपालमा पनि सत्ताको बागडोर सम्हाल्ने र परिवारवाद अनि नातावादको लहरोमा सत्ता ताकिरहेकाहरूले पाठ सिक्न जरुरी छ । 



Author

थप समाचार
ad
x