सम्पादकीय

सम्पादकीय

भारतले बुझ्नुपर्छ– छिमेकीसँग सीमामा किचलो गरेर विश्वको नेता बन्ने लक्ष्य भेदन हुँदैन

इकागज |
माघ ३, २०७८ सोमवार १७:१४ बजे

नेपाल र भारतबीचको सम्बन्ध जति घनिष्ठ र बहुआयमिक छ, मतभेद र विवाद पनि त्यत्तिकै फराकिला छन् । यतिबेला पुनः लिपुलेकमा भारतले सडक विस्तार गरेपछि विवाद सतहमा आएको छ । नेपाली भूमि प्रयोग गरेर भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक मार्ग खोल्ने भन्दै सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । 

महाभूकम्पको पीडामा रहेको नेपाललाई कुनै जानकारीविना नेपाली भूमि अतिक्रमण गरेर व्यापारिक मार्ग खोल्न दुई छिमेकी देशले गरेको सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले कूटनीतिक माध्यमबाट दुवै छिमेकीलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । भूगोलका आधारमा साना–ठूला भएपनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुन्छ । चीनले नेपालको आग्रहलाई सकारात्मक रूपमा लिएपनि भारतले भने बलमिच्याइँ गर्दै नयाँ प्रशासनिक नक्सामा उक्त भूभागसमेत समेट्दै कोभिड–१९ महामारीको समयमा सडक निर्माण कार्य अघि बढायो ।


उक्त भूभागमा दुवै देशले दावी गरिरहँदा त्यसलाई विवादित क्षेत्र (डिस्प्युटेड टेरिटोरी) मानेर ऐतिहासिक दस्तावेज, प्रमाण तथा सन्धि–सम्झौताका आधारमा त्यसलाई सम्बोधन गरिनुपर्छ । नेपालले भारतसँग वार्ताका माध्यमबाट सीमा समस्या समाधानका लागि पहल गर्दै आएपनि भारतले विभिन्न बखेडा सिर्जना गर्दै वार्तामा नबस्ने र नेपाली भूभाग अतिक्रमण गर्दै निर्माण कार्य जारी राख्नु कूटनीतिक मर्यादाविपरीतको क्रियाकलाप हो । 

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नेपालले आफ्नो राजनीतिक/प्रशासनिक नक्सा जारी गरिसकेको छ । सुगौली सन्धिमा महाकालीपारी भारत र वारी नेपालको भूभाग हुने स्पष्ट उल्लेख गरिएको छ । काली नदीको शीरमा विवाद झिकेर भारतले नेपाली भूगोल अतिक्रमण गर्ने ‘बिग ब्रदर मेन्टालिटी’ (ठूल्दाइ प्रवृत्ति) त्याग्न जरुरी छ । ‘पहिले छिमेक’ भन्ने विदेश नीति अंगीकार गरेको भारतले नेपालजस्तो सदियौँ पुरानो बहुआयमिक सम्बन्ध भएका मित्र मुलुकसँग सीमामा किँचलो राख्नु उसका लागि पनि हितकर हुँदैन । भारतको राष्ट्रिय सुरक्षाका लागि पनि नेपालसँगको उसको सम्बन्ध सुदृढ, सबल, मित्रवत र घनिष्ट हुन आवश्यक छ ।

नेपाल र भारतबीच खुला सीमा छ । नेपाली र भारतीयहरू एक–अर्काको मुलुकमा खुला आवत–जावत गर्छन् । एक–अर्को मुलुकमा काम गर्छन् । वारिपारी वैवाहिक सम्बन्ध गाँसिन्छ । भाषिक, सांस्कृतिक तथा आर्थिक हिसाबले नेपाल र भारतबीच निकटता छ । नेपाल, भारतको निर्यातका लागि दशौं ठूलो बजार हो । अमेरिकापछि भारतको सबैभन्दा ठूलो व्यापार बचत हुने राष्ट्र हो– नेपाल । भारतका लागि रेमिट्यान्स प्राप्तिका हिसाबले पनि नेपाल उसका श्रमिकको प्रमुख दश गन्तव्य मुलुक मध्येको एक हो ।

विश्वशक्तिका रूपमा उदय हुने आकांक्षा राखेको भारतले नेपालजस्ता छिमेकीसँगको सम्बन्धमा किँचलो राखिराख्नु उसका लागि सुहाउने विषय होइन । नेपाल र भारतले सीमा विवादका सम्बन्धमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । दुवै मुलुकले उक्त भूभाग दाबी गरेर एकअर्काप्रति घृणा अभियान चलाउँदा दुवै देशलाई हानिमात्र हुन्छ । वार्तामा बसेर ऐतिहासिक तथ्य, प्रमाण, सन्धि–सम्झौता केलाएर सीमा विवाद निरुपण गर्नुपर्छ । लिम्पियाधुरा क्षेत्रको मात्र होइन, भारतसँग सीमा विवाद रहेका सुस्ता लगायत अन्य सबै ठाउँको विवाद क्रमशः सुल्झाउन भारतले अग्रसरता देखाउनुपर्छ । 

भारतले बुझ्नुपर्छ– छिमेकीसँग सीमामा किचलो गरेर विश्वको नेता बन्ने उसको लक्ष्य भेदन हुँदैन । 
 


Author

थप समाचार
x