सम्पादकीय

सम्पादकीय

विश्व वातावरण दिवस : एक दिन सम्झने, अनि बिर्सने

इकागज |
जेठ २२, २०८० सोमबार १७:५६ बजे

आज जून ५ अर्थात् विश्व वातावरण दिवस । नेपालभरि र अन्य मुलुकहरूमा पनि यो दिवस मनाइयो । नेपालमा विशेष गरेर वृक्षारोपण गरेर मनाइयो । पृथ्वीको तापमान बढ्दैछ । यसले मौसम परिवर्तनजन्य प्रतिक्रियाहरू मानव जीवनका लागि छाडेको छ र मानवीय गतिविधि यही तवरमा कायम रहने हो भने यस्तो प्रतिक्रिया अझ बढी आउनेछ । अनि हामीले नगरेको अपराधको मूल्य हाम्रा हिमालहरू पग्लाएर, पानीको मूल सुकाएर अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, डढेलो, भोकमरी सामना गरेर चुकाउँदैछौँ ।

विश्वमा सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश चीन हो । चीनले ९.९ अर्ब टन कार्बन उत्सर्जन गर्छ । औद्योगिक उत्पादन, जो उपभोग्य वस्तु निर्यात गर्छ, जसका लागि चाहिने ऊर्जा अधिकांश कोइलामा आधारित छ । त्यस्तै अमेरिकाको कार्बन उत्सर्जन ४.४ अर्ब टन छ । हाम्रो छिमेकी भारतको कार्बन उत्सर्जन २.३ अर्ब टन छ । यी दुई शक्तिशाली देश (चीन र भारत) ले फ्याँकेको फोहोरको असर हो— मौसम परिवर्तन ।


विभिन्न विश्व मञ्चमा भारतले सन् २०७० सम्ममा ‘नेट जीरो इमिसन’ (शून्य कार्बन उत्सर्जन) को लक्ष्य लिएको छ । अझै ४७ वर्षसम्म भारतले मजाले कार्बन उत्सर्जन गरिरहनेछ । चीनले भने सन् २०६० सम्ममा शून्य उत्सर्जन भनेको छ । कोइलापछि पेट्रोलियम पदार्थ र ग्यासको प्रयोगले पनि कार्बन उत्सर्जन हुन्छ । पृथ्वी सम्मेलन, जलवायु सम्मेलनहरूमा यी धनी र शक्तिशाली भनिएका देशहरूले जतिसुकै फलाके पनि हरित ग्यास उत्सर्जनको मात्रा भने बढ्दै गइरहेको छ । सन् १९९० देखि हालसम्म ५४ प्रतिशतले हरित ग्यास उत्सर्जन भइसकेको छ । अब यसको पिरलो कहाँ पर्नेमा वैज्ञानिकहरूले चेतावनी दिएका छन् भने यही स्थिति रहिरहने हो भने पृथ्वीको तापमान करिब ५ डिग्री सेल्सियसले बढ्नेछ । यो ज्यादै डरलाग्दो कुरा हो । किनभने यसले समुद्रको सतह तीन मिटरमाथि उठ्ने चेतावनी वैज्ञानिकहरू दिएका छन् ।

पृथ्वीको तापक्रम बढ्न नदिन कोइला, पेट्रोलियम र ग्यासको खपत कम गर्ने हो । यो भन्नलाई जति सजिलो छ, गर्नलाई त्यति गाह्राे । खनिज इन्धनको विकल्प क्रमिक रूपमा धीमा गतिमा विकास भइरहेको छ । सौर्य, जलविद्युत्, हरित हाइड्रोजन आदि । अनि हाइड्रोजन उत्पादन गर्न पनि ऊर्जै चाहिन्छ । त्यो ऊर्जा नवीकरणीय भयो भने मात्रै हरित हाइड्रोजन हुन्छ, जुन नेपालजस्तो देशका लागि अत्यन्त लाभकारी छ । अर्थात् हरित हाइड्रोजनका लागि आवश्यक कच्चा पदार्थ बिजुली र पानी हामीकहाँ छ । भारतले बिजुली किनिदिएन भनेर रोइलो गर्नै पर्दैन । धमाधम हरित हाइड्रोजन उत्पादनतिर अहिलेदेखि नै लाग्नु पर्छ । अबको विश्व हाइड्रोजनतिर उन्मुख हुँदैछ । हाइड्रोजनबाट उद्योगको ऊर्जा, परिवनको ऊर्जा, खाना पकाउने ऊर्जा लगायत सबै तवरले उपयोग गर्ने प्रविधि क्रमशः आइरहेको छ ।

अर्काेतर्फ, हाम्रो छिमेकी भारतमा उत्पादन र खपत हुने कूल ऊर्जामध्ये करिब दुई तिहाई जीवाष्म इन्धन बालेरै गर्ने गरिन्छ । ऊ नेपालको बिजुली लिन चाहँदैन । हाम्रो बिजुली लियो भने नेपाल धनी होला भन्ने पीर छ । बरु कोइला बालेर, धुवाँ उडाएर, पृथ्वीलाई विनाशतिर धकेल्न तयार छ, तर नेपालको जलविद्युत् लिँदैन । लियो भने यहीँ आएर आफैँले निर्माण गरेको मात्र लिने उसको नीति छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा अबको वर्षायामको बिजुली थप लिइदिने वाचा/सहमति गरेन । यहीँबाट भारतको नियत पुष्टि हुन्छ ।

यसरी सबै धनी र शक्तिशाली देशहरू मिलेर पृथ्वी ध्वस्त पार्दैछन् । नेपाल भने जलवायु परिवर्तनको असर रोकथाम गर्न (अनुकूलन गर्न) विश्व बैंकसँग ऋण लिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले ध्यानाकर्षण गराउन सकेकै छैन । वृक्षारोपण गर्नु आफैँमा सुखद हो, तर ओखरको बोट लिन पनि विश्व बैंकसँग ऋण लिने नेपाल त्यस्तो देश हो, जहाँ मौसम परिवर्तनका नाममा पनि ‘डेट ट्रयाप’ (ऋणको पासो) मा पर्न छाड्दैन ।
 


Author

थप समाचार
x