सम्पादकीय

सम्पादकीय

सिन्धुज्वाला हाइड्रो : सर्वसाधारणका लगानी डुब्ने खतरा

इकागज |
चैत २, २०७९ बिहीबार १९:१२ बजे

सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा १८ सय भन्दा बढी सर्वसाधारणको ५२ करोड रुपैयाँ लगानी छ । तर यो कम्पनीका सञ्चालकहरूमा व्याप्त चरम बेथिति, अनैतिकता, खराब नियतका कारण सर्वसाधारणको लगानी डुब्ने उच्च जोखिममा परेको छ । पर्चा छरेर बटुलिएको पैसा जथाभावी खर्च गरेर आर्थिक हिनामिना गरिएको छ । न त्यसको कुनै छानबिन भएको छ । थप लगानी ल्याउन ल्याइएको नयाँ ‘लगानीकर्ता’ ले कम्पनी कब्जा गरेका छन् । अदालतमा मुद्दैमुद्दाको चाङ छ । न्याय दिलाउने ठाउँ अदालतमा ‘हेर्न नमिल्ने’ मा मात्र पेशी परिरहन्छ ।

दुई समूहबीच को चाहिँ आधिकारिक, कानुनी वैध हो भन्ने निरुपण गर्ने थलो अदालतमा पालो कहिल्यै आउँदैन । अदालतबाहेक यो आयोजनाको विवाद अरुले टुंगो लगाउन सक्दैन । तर ढिलो न्याय दिनु भनेको न्याय नदिनु पनि हो । अदालतले वर्षाैं लगाएर छिनोफानो गर्‍यो भने यता दुईवटा आयोजनाका लाइसेन्स ‘चेट्’ हुन बेर लाग्दैन । लाइसेन्स नै रहेपछि लगानी स्वतः डुब्ने नै हो । सिन्धुज्वालामा नेपालका नाम चलेका उद्योगपति, व्यापारीदेखि कुखुराको अण्डा बेचेर जोगाएको पैसा हाल्नेसम्मका सर्वसाधारण छन् । आम नागरिकको यति धेरै चासो र सरोकारको विषयमा अदालत ‘मुद्दाको खेल’ खेल्न खेलाउनमै सीमित देखिन्छ । 


मुलुकमा उत्पादित विद्युत्मध्ये आधाभन्दा बढी निजी क्षेत्रको योगदान छ । निजी क्षेत्रकै कारण आज देश लोडसेडिङमुक्त छ । तर नियत खराब भएका व्यक्ति जुनसुकै क्षेत्रमा पनि हुन्छन् । केही एकाध खराब व्यक्तिका कारण सिंगो क्षेत्र नै बदनाम हुन पुग्छ । यस्तै व्यक्तिहरूका कारण बेलाबेला सरकारले निजी क्षेत्रलाई घाँटी निमोठ्ने नीति ल्याउँछ । केही व्यक्तिका कारण आएका त्यस्तो नीतिका कारण सिंगो निजी क्षेत्र पर्छ । सर्वसाधारणको लगानी परेको हुनाले विद्युत् विकास विभागले छानबिन गर्नु उपयुक्त हुने देखिन्छ ।

विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले पनि यस्ता कुरामा चासो दिनुपर्ने हो । तर तत्कालीन ऊर्जा मन्त्रीको खराब नियतका कारण नियमन आयोगलाई आवश्यक कर्मचारी र बजेटको व्यवस्था अहिलेसम्म गरिएको छैन । त्यसैले आयोगको काम प्रभावकारी हु्न सकेको छैन ।

हालका अध्यक्ष अर्जुनबन्धु रेग्मी मुद्दा अल्झाएर, लम्याएरै आफू अध्यक्षमा टिकिरहने दाउमा छन्, उनको यो दाउलाई समयमै निर्णय नहुँदा साथ मिलिरहेको प्रस्ट देखिन्छ । त्यही भएर बाँकी शेयरधनीहरू निरीह बनेका छन् । उनीहरू जाने ठाउँ छैन, सुनिदिने कोही छैन । न्याय नै मरेको देशजस्तो भएको छ । त्यत्रो आर्थिक अपचलन गर्नेहरू, शेयर नै नराखी अध्यक्ष र सञ्चालक बन्नेहरू शीर ठाडो पारेर हिंडेका छन् । 

निश्चय पनि जलविद्युत् आयोजनामा धेरै लगानी आवश्यक पर्छ । नेपालमा मै हुँ भन्ने व्यापारिक घराना एक्लैले मात्रै लगानी जुटाउन सक्दैन । यसमा ‘क्राउड फाइनान्सिङ’ (धेरैजना मिलेर गरिएको लगानी) हुन्छ । तर केही सञ्चालकहरूको नियत खराब हुँदा धेरैजना व्यक्तिको लगानी जोखिममा पुग्छ । सिन्धुज्वाला मात्र होइन, यस्तो समस्यामा परेका आयोजना अरु पनि छन् । 
 


Author

थप समाचार
x