सम्पादकीय

सम्पादकीय

विवादै विवादमा क्यान

इकागज |
माघ १८, २०७९ बुधवार १७:४० बजे

पोखरामा मंगलबार बसेको बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्‍यो । नाबालिकलाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि भदौ २३ गते क्यानले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा गत भदौ २१ गते महानगरीय प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी दर्ता भयो । उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।


बलात्कार गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने स-शर्त पुस २९ गते रिहा भए ।

जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइपछि धरौटी लिएर थुनामुक्त गर्न आदेश दिइएको थियो । थुनामुक्त भएको १९ दिनपछि क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो ।

निलम्बन फुकुवापछि लामिछाने पुनः मैदानमा फर्कने बाटो खुलेको छ । क्यानले पनि नेपालमा क्रिकेट खेल्न पाउने गरी लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म आयोजना हुँदैछ ।

लिग-२ अन्तर्गतकै नेपाल, युनाइटेड अरब इमिरेट्स र पपुवा न्यूगिनीसम्मिलित अर्को एकदिवसीय सिरिज त्रिवि मैदानमै फागुन २५ देखि चैत १६ सम्म आयोजना हुँदैछ । लिग-२ अन्तर्गतको दुबै सिरिज नेपालका लागि एकदिवसीय मान्यता जोगाउनका लागि महत्वपूर्ण छ । र ती दुई सिरिजको ८ वटा खेलका लागि लामिछानेलाई मैदानमा उतार्ने क्यानले तयारी गरिरहेको छ ।

तर क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेकै दिन अर्थात मंगलबार नै लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको हो । थुनछेक सम्बन्धी कार्यसंहितामा त्रुटिपूर्ण भएको कुरा उल्लेख गर्दै निवेदन दर्ता गराइएको छ ।

बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकै अवस्थामा क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने र उनलाई नेपाली राष्ट्रिय टिमबाट खेलाउने निर्णयले क्यानलाई पुनः विवादमा तानेको छ । लामिछानेको निलम्बन फुकुवा तथा उनलाई मैदानमा उतार्न गरेको प्रयासले क्यान नेतृत्वमाथि नै नैतिकताको प्रश्न उठेको छ । नेपाली क्रिकेटमा लामिछाने एकमात्र विकल्पको रुपमा झै प्रस्तुत गर्दा क्यान नेतृत्वले भने विचाराधीन मुद्दालाई वेवास्ता गरेको प्रस्ट देखिन्छ ।

खासमा लामिछानेले विश्वका अधिकांश फ्रेन्चाइज्ड क्रिकेट लिग खेल्दै नेपाललाई विश्वव्यापी पहिचानमात्र दिलाएका छैनन्, राष्ट्रिय टिमका लागि पनि लामिछानेको योगदान कदरयोग्य छ ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय तथा टी-ट्वान्टी अन्तर्राष्ट्रिय दुवैमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा लामिछाने पर्छन् । उनले ३० वटा एकदिवसीय खेलमै नेपालका लागि सर्वाधिक ६९ विकेट लिएका छन् । त्यसैगरी, ४३ वटा टी-ट्वान्टी खेलमा सर्वाधिक ८५ विकेट समेत लामिछानेले लिएका छन् ।

पछिल्ला वर्षहरुमा नेपालले अन्तर्राष्ट्रिय खेलहरु जित्दा लामिछानेको योगदान अतुलनीय रहँदै आएको छ । तर क्यानले अहिले लामिछानेको विकल्पमा अन्य खेलाडी टिममा नहुनेबारे क्यान नेतृत्वले ठोस जवाफ दिन सक्ने अवस्था छैन ।

त्यसका अलावा मुद्दा अझै अदालती प्रकृयामै रहेको तथा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने तथा उनलाई राष्ट्रिय टोलीबाट खेल्न दिने निर्णयपछि लामिछाने स्वयमलाई पनि टिममा बस्दा तथा मैदानमा उत्रँदा अनेक प्रश्नहरु उठ्ने अवस्था आउँछ, या आउन सक्छ जसको उत्तर स्वयम लामिछाने तथा क्यानका पदाधिकारीहरुले दिन सक्नेछैनन् । त्यो अवस्था नआउन सक्छ ।

यसले क्यान पदाधिकारीहरुको छविमाथि पनि गम्भीर प्रश्न उठ्न सक्ने प्रशस्त ठाउँसमेत दिनेछ ।

अझ पछिल्लो समय विभिन्न विवादका कारण क्यानको नेतृत्वमा रहेका पदाधिकारीहरु चौतर्फी आलोचित हुँदै आइरहेका छन् ।

नेपाल टी-ट्वान्टी लिगमा भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता, लिगका लागि बन्द कोठाभित्र गरिएको टिम तथा खेलाडी छनोट, लिगका क्रममा पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल्न बहिस्कार गर्नु, कमेन्टेटरले नै खेलमा मिलेमतो भएको भन्दै आफ्नो जिम्मेवारी त्याग्नु, पूर्व कप्तानले समेत स्पट फिक्सिङका लागि खेलाडीहरुलाई प्रस्ताव आएको स्वीकार्नु तथा लिगमा स्पट फिक्सिङ भएको प्रहरीको अनुसन्धानले पुष्टि गरेपछि क्यान पदाधिकारीमाथि दवाव परेको छ ।

फिक्सिङलाई लिएर नै आईसीसी तथा राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले पनि नेपाल टी-ट्वान्टी लिगलाई लिएर छानविन गर्‍यो । साथै क्यानकै केन्द्रीय सदस्यहरुले लिगमा गल्ती गरेको भन्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित अन्य पदाधिकारीहरुको राजीनामा माग गरिरहेका छन् । अर्कोतर्फ क्यानले नेपाली राष्ट्रिय टिमका लागि प्रशिक्षक नियुक्त गरे पनि राखेपले त्यसलाई अनुमोदन नगरिरहेको अवस्था सृजना भएको छ । ती कारणले क्यान पुनः आईसीसीको निलम्बनको खतरामा रहेको क्यान नेतृत्वले नै पुनः भन्न थालिसकेको अवस्था छ ।

क्यान विवादको घेरामा श्रृंखलाबद्ध रुपले परिरहेको छ । जसकारण उचाईं लिँदै गरेको नेपाली क्रिकेटमा असर परेको प्रष्ट देख्न सकिन्छ जुन हो पछिल्ला नेपाली क्रिकेट टोलीको नतिजा ।

लगातारजस्तै नेपाली टोलीको खस्कँदो परिणामले खेलप्रेमी, खेलाडी मात्रै हैन सिंगो देशको प्रतिष्ठामा आँच आउने देखिन्छ । क्यान विवाद समाधानतिर नगए यसको जिम्मा स्वयम् क्यानले लिनसक्नुपर्दछ नभए सच्चिनुपर्दछ ।


Author

थप समाचार
x