सम्पादकीय

सम्पादकीय

अबको प्राथमिकता सौर्य ऊर्जा

इकागज |
मंसिर १४, २०७९ १६:४४ बजे

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को हालसम्म सम्पन्न सबै सम्मेलनहरु (पछिल्लो २७ औं सम्मेलन, इजिप्ट) को एउटै मात्र विषय वस्तु हो पृथ्वीको बढ्दो तापक्रमलाई रोक्ने । विश्वमा औद्योगिक क्रान्ति (सन् १७६०) अघिसम्म पृथ्वीको तापक्रम बढेको थिएन । जब हातले गर्ने कामहरु स्वचालित यन्त्र (मेसिन) मा रुपान्तरण हुन थाले, तब ऊर्जा आवश्यक पर्‍यो । अनि त्यो ऊर्जामध्ये अधिकांश कार्बन उत्सर्जन गर्ने (तापीय) रहे । र, यो क्रमले अहिले वैश्विक तवरमा विकराल रुप धारण गर्दैछ, यसले सबैलाई चिन्तित पारेको छ ।

यद्यपि जति नै चिन्ता प्रकट गरे पनि विश्वका नेता तथा देशका कर्महरु भने मौसम परिवर्तनलाई बल पुग्ने खालका छन्, त्यो पनि जबर्जस्त । ‘नेट जीरो कार्बन’ (शून्य कार्बन) को तिथि सारिंदै सारिंदै आएको छ । अर्थात् तापनीय ऊर्जाको विकल्पका रुपमा विश्वमा वैकल्पिक ऊर्जा तयार हुन सकेका छैनन् र एकप्रकारले त्यो बाध्यात्मक रुपमा पनि प्रयोग हुँदै आएका छन् ।


मौसम परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दै गएको छ । हिउँ सृंखलाहरु पग्लँदो छ । समुद्रका उचाइ बढ्दो छ । टापुजन्य देशहरु डुब्दै छन् । कात्तिमा बाढी आउन थालेका छन् । हिमालयका तुषार क्षेत्र (पर्माफ्रोस्ट) विस्तारै पग्लेर सानोतिनो पानी पर्दा पनि सिंगो हिमालय क्षेत्र बगेर आउन थालेका छन् । मेलम्चीको बाढी एउटा उदाहरण हो । अबका दिनमा विश्वका धेरै देशमा यस्ता मेलम्चीजन्य घटना बढ्दै जाने चिन्ताले सताएको छ । अत्यधिक तापीय ऊर्जा (कोइला, प्राकृतिक, ग्यास, डिजेल आदि) को बढ्दो प्रयोगले पृथ्वीको तापमान बढाएको हो विश्वमा अमेरिका सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हो । कुल उत्सर्जनको २५ प्रतिशत अमेरिकाले मात्रै गर्छ । युरोपियन युनियनको २८ प्रतिशत छ भने अमेरिकापछि सबैभन्दा धेरै चीन (१३ प्रतिशत) छ । 

यसको मार भने नेपाल पनि पर्दै आएको छ र परिसकेको छ । तर जलवायु परिवर्तनको असरबाट बच्न भन्दै नेपाल भने विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) सँग ऋण लिएर तथाकथित ‘अनुकूलन’ गर्ने नाटक गरिरहेछ । तर गर्नुपर्ने कर्मबाट भने नेपाल सरकार विमुख हुँदै आएको छ । जलवायु परिवर्तनको असरबाट बच्न हरेक देशले वाचा गरेका छन् तर कर्म भने त्यसका विपरीत छन् । अघिल्लो जलवायु सम्मेलन (ग्ल्साग्यो) मा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको उत्पादन गर्ने कुल ऊर्जामा १० प्रतिशत सौर्य हुने भाषण र प्रतिबद्धता गरेर आएलगत्तै यता ऊर्जामन्त्री पम्फा भुसालले सौर्य ऊर्जाको घाँटी रेटिन् र कहिल्यै माथि उठ्न नसक्ने गरी कथित प्रतिस्पर्धा गराउने नीति ल्याइन् । जबकि १६३ मेगावाटका सौर्य ऊर्जा उत्पादनका लागि तयारी अवस्थामा थिए । विश्वका अधिकांश देशले सौर्य ऊर्जा उत्पादनलाई जोड दिंदै अनुदान दिइरहेका छन् । तर नेपालमा भने आउन लागेकालाई गला रेटिएको छ ।

दिनभरि घाम लाग्दा सौर्य ऊर्जा उत्पादन हुन्छ, राति हुँदैन । तर ऊर्जा त राति पनि चाहिन्छ । अबको जाडोयामको ऊर्जा भारतबाट आयात गरेर गर्जाे टार्नुपर्ने स्थिति छ । दिउँसो सौर्य ऊर्जाले दिनभरिको पानी (नदीको) सञ्चय गर्ने, राति जलविद्युत् ऊर्जा उपयोग गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण हिउँ जम्ने र पग्लने चरित्रमा परिवर्तन आइसकेको छ । हिउँदयाममा एक तिहाई मात्र जलविद्युत् उत्पादन हुने गर्छ । तसर्थ दिनभरिको पानी सञ्चय गर्ने (अर्धजलाशय, जलाशय र अब बन्नेहरुमा) र राति जलविद्युत् उपयोग गर्ने ऊर्जा मिश्रण नीति अहिलेको आवश्यकता हो । ऊर्जा क्षेत्रलाई तहसनहस पार्ने ऊर्जा मन्त्रीको अल्पज्ञानका कारण यो क्षेत्रले गति लिन नसकेकोमा दुविधा छैन । त्यसकारण अब जलविद्युत्का साथसाथै सौर्य ऊर्जालाई पनि प्राथमिकतामा नराखी सुखै छैन । अब बन्ने सरकारले यस्तो सुकर्म गर्ला भन्ने अहिलेलाई अपेक्षा गरौं ।
 


Author

थप समाचार
ad
x