सम्पादकीय

सम्पादकीय

नायक धेरै नै बनेका छन् तर टिकेका छैनन्, नयाँहरूलाई शुभकामना

इकागज |
मंसिर ७, २०७९ बुधवार १६:२७ बजे

स्थानीय चुनाव हुँदाकै बखत देशभर ‘स्वतन्त्र’ शब्दको उभार थियो । स्थापित राजनीतिक दलका शक्तिशाली उम्मेदवारलाई परास्त गर्दै महानगर प्रमुखसमेत बन्न सफल भएपछि ‘स्वतन्त्र’ शब्दको ओज र वजन बढेको हो । त्यही शब्दको प्रयोग गर्ने रणनीतिसहित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) मात्र बनेन कि प्रतिनिधि सभा सदस्यमा तेस्रो शक्तिकै रूपमा उदाउने सम्भावना देखापरेको छ । तेस्रो शक्तिका निम्ति ‘रास्वपा’ र माओवादी केन्द्र प्रतिस्पर्धारत छन् ।

अझ राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ विशेष गरी सहरिया क्षेत्रमा आकर्षक बनेको छ । पहिलोचोटि चुनावी प्रतिस्पर्धामा आएका ‘रास्वपा’का उम्मेदवारहरूले स्थापित दलका स्थापित नेताहरूलाई ‘घन्टी’ बजाउँदै विस्थापित गरेका छन् । त्यसअतिरिक्त टुटफुट–गुटगत कारणले हराउँदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावसँगै फेरि राजनीतिक वृत्तमा आइपुगेको छ । 


स्थानीय चुनावमा ‘स्वतन्त्र’को आकर्षणसँगै ठूला दल र तिनका नेताहरू परिवर्तन नभएको खण्डमा आमनिर्वाचनमा ‘घन्टी’ बजाउने संकेत मात्र होइन कि सन्देश नै दिएका हुन् । तिनमा हाबी ‘यथास्थितिवादी’ सोचविरुद्ध धेरथोर मात्रामा धक्का दिएकै थिए । दलहरूले उम्मेदवारी प्रस्तुत गर्दा या गठबन्धन गर्दा पनि सहरी भेगमा विद्रोह हुनेछ भन्ने सन्देश ग्रहण गरेनन् । त्यसरी सच्चिने मौका पाउँदा पनि अटेर गरेपछि मतदाताले मतबाटै पाठ सिकाएका छन् । मत बदलिँदै छ भन्ने संकेत र सन्देशसँग ठूला दलहरू घोत्लिन नचाहनुका पनि अनेकन् कारण हुन सक्छन् । त्यसमध्ये गठबन्धन नहुँदा आफू हारिने रणनीतिसहित फरक प्रपञ्च अपनाएका हुन सक्छन् । 

यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी चुनावकै मुखमा उदाएको हो । उसको संगठन बनेकै थिएन । स्थापित दलप्रतिको विकर्षण र नेपाली कांग्रेस चुनावअघि नै गठबन्धनमा गएपछि रिसाएका मतदाताले सहरी भेगमा ‘स्वाद’ फेर्न पुगे । यो चुनावमा सहरी मतदाताले अनुचित गठबन्धनलाई साथ नदिने सन्देश पनि राम्रैसँग दिएका छन् । यद्यपि ग्रामीण भेगमा चाहिँ पुराना दल र गठबन्धनले चुनावी परिणाम तल–माथि पारेको यथार्थ हो ।

नेपाली समाजमा हर क्षेत्रमा क्षणिक रुपमा धेरै नै नायक जन्मेका छन् तर टिकेका छैनन् । संसद् भवन छिर्दै गरेका नयाँ पात्र र दललाई शुभकामना । नायक बन्ने तर नटिक्ने, यस्तो नहोस् । तपाईंहरू टिक्नु पनि होस्, शुभकामना । 

कांग्रेसका तमाम मतदातालाई चुनावअघि ‘गठबन्धन’ शब्द मन परेको थिएन । चुनावपछि सरकार निर्माणका क्रममा ‘समीकरण’ बन्नु अनौठो होइन । अझ मिश्रित चुनाव प्रणालीसँगै एक दलले बहुमत ल्याउन सक्ने सम्भावना क्षीण भएसँगै चुनावी परिणामका आधारमा सत्ता गठबन्धन बन्नु स्वाभाविक प्रक्रिया हुन् । तर, चुनावअगावै गठबन्धन गर्नु र त्यसअतिरिक्त नेताहरूबाट अर्काे दललाई मत ‘ट्रान्सफर’ गर्न आदेश दिइनु, त्यसो नगरे कारबाहीसम्मको धम्कीले मतदाता भड्किएको अवस्था थियो । अर्थात्, दलीय नेताहरूले आफूलाई मत माग्नुको बदला गठबन्धन दलका उम्मेदवार जिताउन आग्रह गरेको दृश्य पाच्य थिएन ।

यद्यपि पुराना दलहरूले नयाँ अनुहार वा युवा पुस्तालाई मौका दिएका ठाउँमा विजय हासिल गरेकै छन् । यसको अर्थ अब युवा वा नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ भन्ने पनि हो । मतदाताका रोजाइमा नयाँ र युवा पुस्ता परेका देखिन्छन् । चुनावसँगै स्थापित पुराना नेताहरू बिदा हुँदैछन् । 

त्यसअतिरिक्त स्थापित दलका नेताहरूमा हाबी ‘स्वेच्छाचारी’ प्रवृत्ति मतदातालाई मन परेको थिएन । पार्टी र शासन संयन्त्र रहेर खराबी निर्णय लिनेदेखि चुनावका बेला जथाभावी उम्मेदवार बनाउँदै गएपछि मतदाता भड्किन पुगेका हुन् । अझ समानुपातिक सूचीमा नेतृत्वले राखेको नाम देखेपछि जिब्रो टोक्नेहरू छन् । 

चुनावी लहरसँगै उदाएका शक्तिहरूले आफूलाई व्यवस्थित गर्न सकेनन् भने बिस्तारै विस्थापित हुन पुग्छन् । २०६४ को चुनावसँगै माओवादीले व्यवस्थापिका–संसद्मा प्रकड जमाएको थियो, उतिबेलाको चुनावमा उसैको लहर थियो । संविधान सभा चुनावसँगै मधेसवादी शक्तिले पनि राजनीतिमा उभार ल्याएका हुन् । तर, तिनीहरू विस्थापित हुँदै तराई भेगमा पनि नयाँ शक्तिको उदय हुँदै छ ।

यसपालि संसदीय संरचनाभित्र नयाँ शक्ति र अनुहारहरूको राम्रै प्रवेश हुनेछ । २०७४ पछिको संसदीय शक्ति र कर्म ज्यादै शिथिल पारिएको यथार्थ हाम्रासामु छन् । कार्यकारिणीले संसद्लाई छायाँमा मात्र पारेन कि अर्थहीन तुल्याउन पनि कुनै कसर बाँकी राखेन । संविधानतः जसरी संसद्ले शक्ति पाएको छ, अब त्यो शक्ति उपभोग र उपयोग गरी राज्यका तमाम अंग–संयन्त्रलाई ‘ट्रयाक’मा ल्याउनुपर्नेछ । त्यसमा पुराना दल र पात्रहरूले ‘यथास्थितिवाद’मा राख्न चाहेको खण्डमा नयाँ अनुहार र नयाँ शक्तिहरूले तरङ्ग नै ल्याउने शैलीमा भूमिका खेल्नुपर्नेछ, संसदीय शक्तिलाई जीवन दिनकै खातिर पनि ।

नेपाली समाजमा हर क्षेत्रमा क्षणिक रुपमा धेरै नै नायक जन्मेका छन् तर टिकेका छैनन् । संसद् भवन छिर्दै गरेका नयाँ पात्र र दललाई शुभकामना । नायक बन्ने तर नटिक्ने, यस्तो नहोस् । तपाईंहरू टिक्नु पनि होस्, शुभकामना । 
 


Author

थप समाचार
x