सम्पादकीय

सम्पादकीय

यो बडादसैँले नालायकहरूलाई किनारा लगाओस्

इकागज |
असोज १६, २०७९ आइतबार १६:४५ बजे

दसैँ, हाम्रो महान चाड । हाम्रा चाडपर्व, रीति–रिवाज र संस्कृति हाम्रा अमूल्य निधि हुन् । अनि वर्ष दिनभरिका दुःख, समस्या, हैरानी, कामको चटारो बिसाउन केही दिन भए पनि फुर्सद मिलेको छ । बडादसैंमा मान्यजनबाट आशिर्वाद लिने हाम्रो परम्परा हो र जुन युगौँदेखि जीवन्त रहँदै आएको छ ।

दसैँ, जसको आफ्नै गौरवमय उपस्थिति छ । वर्षभरिमा कम्तीमा पाँच–छ दिनका लागि भए पनि त्यो चटारोबाट उन्मुक्तिमा रम्न पाइन्छन् । जन्मेकै थाँतथलोमा फर्कने अवसर मिल्छ । गाउँ–घरमा खेतबारीमा वर्ष दिन व्यतित गर्नेदेखि सहरमा सुकिला–मुकिला जागिरदेखि ठेलगाँडा तान्नेसम्मले दसैंमा फुर्सद पाउँछन् । अनि कर्पोरेट हाउसदेखि त्यही हाउसको ढोकामा बुट बजार्नेहरूलाई पनि दसैँ लाग्छ नै । दसैँ मनाउन संघर्ष गर्नेहरूको आ–आफ्ना कथा होला । तिनमा अनेकन गाथा पनि हुँदो हो ।


अनि महँगीले धुरी छोएको छ । रुस–युक्रेन युद्ध देखाउँदै व्यापारीहरूले उपभोक्ता रजाइँ चलाएका छन् । सरकारी अनुमगनकर्ताको कतै उपस्थिति देखिँदैन । यो अवस्थामा चरम महँगीको दसैँ मनाउनु त्यति सजिलो छैन । हाम्रैबीचका हुने/खाने वर्गका सधैं चाडबाड सरह छ । अनि छँदा खानेका लागि महँगी मारले अझ ऋणको बोझ थप्ने गर्छ ।

यसपालिको दसैंसँगै चुनावी माहौल पनि छ । अनि, तपाईँ–हाम्रै मतमा शासकीय ‘रजगज’ को सपना बोक्नेहरू पाँच वर्षपछि तपाईं–हाम्रो घर–आँगनमा आउँदै छन् । आकांक्षी हुन् या दलीय कार्यकर्ता तिनीहरूसँग पनि निर्धक्कले भन्नुस्, हामी राणाकालीन या पञ्चायतकालीन रैती या प्रजा होइनौँ । हामी संविधानतः सार्वभौम शक्ति सम्पन्न नागरिक हौं । त्यस्ता खराब–नौटंकीवाजसँग निर्धक्कसँग प्रश्न गर्नेदेखि किनारा लगाउने साहस पनि देखाउनै पर्छ । अनेकन रुप बदल्नेहरू, दल बदल्नेहरू, ढाेंगी–अवसरवादीहरू चाडबाडकै मुखमा मत माग्न आउन सक्छन् । तिनलाई जसरी पनि सत्ता चाहिएको छ । अनेकन रुप परिवर्तन गरेर भए पनि ‘पपुलिस्ट’ शब्दावली भाका–भाषामा तपाईं–हामीलाई फेरि उल्लु बनाउन सक्छन् । अनेकन आश्वासनका पोका बाँड्ने नयाँ र पुराना पात्रहरू गाउँ–ठाउँमै फर्किएको हुँदा चनाखो हुनैपर्छ ।

तिनीहरू भावाशेष, दलीय आवेशमा जे भए पनि तपाईं, हाम्रै एक मतका आधारमा राज्य सञ्चालक बन्छन् । एक मत पनि बहुमूल्य छ । तपाईं हामीले त्यो बहुमूल्य मतको साख जोगाउनुपर्छ । यदि हामी लोकतान्त्रिक मुलुकका नागरिकका रुपमा आफूलाई स्थापित गर्न चाहेको ‘हो भने’ लोक रिझ्याईंँमा रोम्ने ढोंगी–आडम्बरी पात्रहरू चिन्दै तिनलाई किनारा लगाउनुपर्छ । भ्रष्ट अनुदार, ढाेंगी, दम्भी, अहंकारी, आफ्नै बोलीलाई मात्रै सत्य भान पार्दै राज्यसत्ता कब्जा गर्न उद्यत पात्रहरूका अनुहार छ्यालब्याल गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

तपाईं–हाम्रा घर–आगनमा आइपुगेको बडादसैँले नयाँ रौनक र ऊर्जा देओस् । अनि नवदुर्गा भवानीले शासकीय वृत्तका नेतालाई सद्बुद्धि दिउन् र नेपालीहरूलाई धैर्य गर्न सक्ने क्षमता । सँगै भ्रस्ट, नालायक, पाखन्डी, असक्षम पात्रहरू जो सुकै हुन् तिनलाई किनारा लगाउन शक्ति मिलोस् । हामी विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।


Author

थप समाचार
x