सम्पादकीय

सम्पादकीय

जनताको ज्यान जोगाउन तत्काल दुई चालक अनिवार्य गर

इकागज |
असोज ४, २०७९ मंगलबार १६:५१ बजे

नेपालको सडक संरचनाकै कारण त्यसै पनि दिनहुँ दुर्घटना भइरहेको हुन्छ । त्यसमाथि ऐनमै तोकेर व्यवस्थित गर्न खोज्दा पनि लागू हुँदैन । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने देशभरिमा दैनिक करिब ३७ दुर्घटना हुन्छ । ती दुर्घटनाहरूमा सातजनाको मृत्यु हुन्छ भने ४० घाइते हुन्छन् । यो सरदरको हिसाब हो । यसरी हुने दुर्घटनामा चालकको लापर्वाही मुख्य जिम्मेवार रहने अध्ययनले देखाएको छ जसको अंकभार ६० प्रतिशत छ । बस व्यवसायीहरू भने सरकारले गतिलो सडक नबनाइदिएका कारण दुर्घटना बढेको बताउँछन् । यसरी सरकारले चालक तथा व्यवसायी र व्यवसायी सरकारलाई देखाएर पन्छिँदै आएका छन् । यसको उपाय मानिएको लामो दूरीका साधनमा दुई चालक राख्ने कुरामा भने कसैको चासो छैन । 

दुईजना चालक अनिवार्य राख्नुपर्ने सवारीसम्बन्धी ऐनलाई बस तथा ट्रक मालिकहरुले लत्याइरहेका छन् । एउटै चालकले घण्टौंसम्म अथकित तवरले सवारी चलाउँदा गाडी दुर्घटना हुन्छ भन्ने तथ्यलाई बोध गरेर कानुनमै यस्तो व्यवस्था गरिएको हो । तर सवारीधनीहरुले यसलाई अनावश्यक आर्थिक बोझको रुपमा लिएका छन् । अनि सडकको सवारी अनुगमनमा अहोरात्र खटिने ट्राफिक प्रहरीले कहिल्यै पनि दुईजना चालक राखेको छ कि छैन भनी सोधखोज गर्दैन । आउन लागेको दसैंमा एउटै चालकले धेरै ट्रिप गर्दा उ थाक्छ । आराम गर्न पाउँदैन । त्यही कारण दुर्घटना बढिरहेको छ ।


सरकारकै कारण पनि दुर्घटना बढिरहेको कुरालाई पनि नकार्न मिल्दैन । सडक संरचना गतिलो नबनाउने, ठेक्का लगाउँदै सेटिङ गर्ने, गुणस्तरमा सम्झौता गर्नुपर्ने, सडक मापदण्ड नै नपुग्ने लगायतका सरकारका तर्फबाट गरिएका कुकर्महरूका कारण पनि नागरिकले अकारणमै ज्यान गुमाइरहेका छन् ।  करोडौं रुपैयाँ खर्च हुने सडकमा कमिसन दिनैपर्ने अघोषित व्यवस्था छ । इन्जिनियरदेखि मन्त्रीसम्मलाई भागबण्डा पुर्‍याउनु पर्दा ठेकेदारले घरबाट ल्याएर हाल्दैन । त्यही सडकको बजेटबाट हाल्छ । अनि कमजोर र गुणस्तरहीन सडक बन्छ । सडकहरु राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रभित्र कमिसन दिनुपरेका कारण बनाएको महिना दिन पनि नटिकेका अनेक दृष्टान्त छन् ।

त्यसमाथि संघीयता कार्यान्वयन गर्ने क्रममा हरेक वडाअध्यक्षहरु डोजराध्यक्षमा रुपान्तरण भएका छन् । आफैँ डोजर मालिक, अनि योजनामा पैसा हाल्ने पनि आफैँ । सडकमा गाडी चलाउन योग्य नभए पनि भोट तान्नैकै लागि भए पनि गाडी ल्याएको देखाउने तर गाडी र सडक दुवै कमसल हुँदा  दुर्घटनामा पर्ने । अधिकांश डोजराध्यक्षहरुले बनाएका सडकमा दुर्घटना हुनुको कारण राजनीतिक छ । 

दसैँ आउँदैछ । सडकमा सवारी संख्याको चाप पनि बढ्दो छ । तर चालक एक्लो छ । सर्वप्रथम लामो दूरीमा चल्ने बस तथा ट्रकमा ऐनले भनेबमोजिम तत्काल २ जना चालकको व्यवस्था गर्नुपर्छ । यसका लागि कुनै नीतिगत निर्णय गर्नुपर्ने अवस्था पनि छैन । ऐनमा उल्लेख भएको व्यवस्था लागू गर्न ट्राफिक प्रहरीलाई एक मिनेट पनि लाग्दैन । कतै ट्राफिक प्रहरीको बस वा ट्रक साहुसँग मिलेमतो पो छ कि भन्ने आशंकालाई उनीहरूकै रवैयाले पनि मलजल गरिरहेको छ । यो सन्देह हटाउन र लाखौं नेपालीको ज्यान जोगाउन तत्काल दुई चालकको व्यवस्था गर्नैपर्छ । 


Author

थप समाचार
x