सम्पादकीय

विशेष सम्पादकीय

फोहोरको साम्राज्यका फोहोरी सम्राट्हरू

इकागज |
साउन ३०, २०७९ सोमवार १७:१७ बजे

सुन्दर सांस्कृतिक सहर काठमाडौँ फाेहोरमाडौँ बनेको छ । बाटाघाटा, चोकचोक, गल्लीगल्लीमा फोहोरका पहाडशृंखला छन् । पानी परेको बेला बीच बाटाभरि, आँगनभरि फोहोरका छ्यालब्याल पोलिथिन पौडिरहेका देखिन्छन् । पानी रोकिएपछि सडकभरि फोहोरका झोला छरिएका देखिन्छन् । यस्तो लाग्छ, फोहोर प्रदर्शन हाम्रो राष्ट्रिय चाड हो । हामी फोहोर सप्ताह हैन, फोहोर वर्ष महोत्सव मनाइरहेका छौँ ।

घरघरबाट निस्केर फोहोरका थैलाहरू खोलामा बगाइरहेको देखिन्छ । ढलहरू सिधै खोलामा मिसिन्छन् । प्लास्टिकको आतंक यति छ कि सडक किनारा, नदी किनारा, घर-स्कुल-कार्यालयहरूमा प्लास्टिकजन्य खोलबाहेक अर्थाेक देखिन्‍न । खर्बपति व्यापारीहरूका जंक फुडदेखि हर बोत्तल-खोलहरूले नेपाल ढकमक्क ढाकिएको छ ।


मिनरल वाटरका बोतलहरू अगाडि नउभ्याई यहाँ कोही ‘स्वस्थ’ हुँदैन । ठूलो मान्छेको सूचकै हो, ऊ प्लास्टिकको पानी-खानकी खाओस् । र, जथाभावी मिल्काओस् ।

प्लास्टिकको अत्यधिक प्रयोग र जथाभावी विसर्जनका दुष्परिणामबाट हामी कोही सचेत छैनौँ । राजधानीका पवित्र मतीहरू बाग्मती, विष्णुमती, शेषमती, इच्छुमती, रुद्रमतीहरू मति बिग्रेका शासकदेखि नागरिकको अपराध झेल्न विवश छन् । नदीलाई ‘पुज्ने’ देशमा नदीको यो हालत कसरी छ ? नदी ‘ईश्वर हुन्’ भनेर अझै पढ्न-पढाउन-भन्न हामीलाई लाज लाग्दैन ?

सांस्कृतिक सहर फोहोरको सहर बनेको छ । डिल्लीबजारको सांस्कृतिक संघ फोहोरको डंगुरले छोपिएको छ । फोहोरको संस्कृतिले गिज्याइरहेको छ हामीलाई । 
हामी हर कोहीलाई आफ्नो घरमा र घरअगाडि फोहोर नथुप्रिए पुगेको छ । जसरी आफूलाई फोहोर गनाउँछ, हामी सोच्दैनौँ अर्काेलाई पनि उसरी नै गनाउँछ । घरभित्रै व्यवस्थापन गर्न सकिने फोहोर पनि हामीलाई बाटोमा नथुपारी खाएको पच्दैन । अनि एउटा कोठामा, दुईटा कोठामा मात्र बस्ने जसले फोहोर महिनौँ दिनसम्म पकाउने, सुत्ने कोठामा राख्नुपर्छ, उसको बारेमा केही सोच्नुपर्दैन ? प्लास्टिक प्रयोग गर्दिनँ भनेर बसेका सचेत नागरिकले फोहोर थुपार्नै भए पनि प्लास्टिकका झोला किन्नुपरेको छ । देश-सांस्कृतिक । काल-एक्काइसौँ शताब्दी । परिस्थिति-फोहोर नै सिरक, फोहोर नै डसना । 

यति हुँदा पनि राजधानी बासिन्दा भनेर भन्न लाज लागिरहेको छैन ? अनि यही सहरका शत प्रतिशत मान्छे आफूलाई सभ्य, सुसंस्कृत भनाइरहेका छन् । कसैले चकलेट खाएर खोल खल्तीमा हाल्यो भने हाँस्ने नागरिक कसरी पढेलेखेको ? कसरी शिक्षित ? कसरी चेतनशील ? जथाभावी पिच्चपिच्च थुक्ने, खकार्ने, मुत्ने, हग्ने, फोहोर खसाल्नेले विदेशमा यस्तो राम्रो सिस्टम छ भनेर गफ दिइरहेको छ । अनि उही भन्छ- सबले फोहोर फालेका छन्, तँ/म एकजनाले फोहोर नफालेर सहर कसरी सफा हुन्छ ?

बाग्मती, विष्णुमती, शेषमती, इच्छुमती, रुद्रमतीहरू मति बिग्रेका शासकदेखि नागरिकको अपराध झेल्न विवश छन् । 

सहरमा जसको ठूलो कम्पाउन्ड छ, उसले फोहोर त्यहीँ गाडेर सजिलै व्यवस्थापन गर्न सक्छ । तर, सबैभन्दा धेरै फोहोर तिनै धनाढ्यहरूका घरबाट निस्किरहेको छ । ठूलाठूला अपार्टमेन्ट बनाउन सक्नेले त्यहीँ केही फोहोर व्यवस्थापन गर्न सकिने उपाय साेचेको छैन । महँगा गाडी चढ्नेले झ्याल खोलेर फ्याँकेको कण्डमदेखि प्याडसम्म सफाइकर्ताहरूले उठाउनुपरेको छ ।

सफाइकर्मीको स्वास्थ्यबारे त कसैलाई चिन्ता छैन । उनीहरू, उनीहरूको परिवारले झेल्ने स्वास्थ्य समस्या, डेरा समस्यादेखि अन्य यावत् ‘छुवाछूत’को मनोवैज्ञानिक समस्याबारे कसले सोचेको छ ?

यहाँ तीन तहको सरकार छ । मन्त्री, सांसद, मेयर, अध्यक्ष, सदस्यजस्ता टाउकेहरूको कुनै कमी छैन । तर, फोहोरको जिम्मा मेयरको मात्र होइन नि । मेयरको पहिलो कर्तव्य हो तर उसलाई सघाउनु सबैको दायित्व मात्र होइन, कर्तव्य पनि हो । मेयरले पनि आफ्नो स्पष्ट योजना, भोगेको समस्याबारे सबैलाई स्पष्ट पार्नुपर्छ । लाइभप्रेमी मेयरका क्रियाकलाप, आचारविचार किन गोप्य भइरहेका छन् ?

एउटा वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मले मेयरलाई मात्र औँला देखाउने हो भने उनीहरू पदमा बसेको किन हो ? स्थायी सरकार भनिने महानगरका हर कर्मचारीदेखि वडा सदस्यदेखि सबैको दायित्व हुनुपर्छ, फोहोरबारे सोच्ने र काम गर्ने ।

फोहोरले हुने जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण र तिनले सिर्जना गर्ने रोगहरूको पीडाबारे हामी कहिले बुझ्छौँ ? फोहोर तत्कालका लागि बाहिर जिल्ला लान सकिन्छ तर त्यो दीर्घकालीन उपाय हुँदै होइन । ल्यान्डफिल साइटका नागरिकको स्वास्थ्यको चिन्ता खै ?

फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे घरघरमा छलफल हुनुपर्छ । वडा सदस्यदेखि वडाध्यक्षसम्मले आफ्नो टोलको सफाइबारे चिन्ता लिनुपर्छ । चिन्ता मात्र होइन जिम्मा लिनुपर्छ । हैन भने राजीनामा गर्नुपर्छ ।

प्रतिनिधि र कर्मचारीहरूले काम गरेनन्, माथि मात्र देखाए भने त्यहाँका नागरिकदेखि सरकारबाहिरका दलसम्मले सचेतना-विरोधका कार्यक्रम गर्नुपर्छ । नागरिक चुप बस्ने भएर पनि शासकहरू मैमत्त भएका हुन् । उनीहरूलाई हामीले जे गरे पनि नागरिकले सहिदिन्छन् भन्ने परेको छ ।

फोहोर यसरी थुप्रिँदा पनि चुप बस्ने हामी नागरिक, कस्ता नागरिक ? ल्यान्डफिल साइटका नागरिकसँग हामी अब केही वर्षपछि यता फोहोर फाल्न ल्याउँदैनौँ भनेर सबै दल-सबै सरकार, सबै सहरबासीले स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ । र, घरमै चर्पी अनिवार्य भए जसरी फोहोर व्यवस्थापनका उपायहरू अनिवार्य बनाउनुपर्छ । जसको घर छैन, जग्गा छैन उसका लागि सामुदायिक तहमा व्यवस्था हुनुपर्छ । कुहिने फोहोर त मल हो । मल भनेको पैसा हो । मल भनेको माटोका लागि, कृषिका लागि अत्यावश्यक हो नि ।

फोहोरमा फोहोरी राजनीति गरिरहेका वडाप्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मका घर-घरतिर हजारौँ/लाखौँ नागरिक हातमा फोहोरका झोला बोकेर आन्दोलनमा निस्किन ढिला भइसकेको छ ।

नकुहिने फोहोर कम गर्नेतिर सोच्‍नै पर्छ । चाउचाउ, कुरमुरे, रेडबुल, चिसोहरू, रक्सीहरू, तेलहरू, दूधहरू, दालमोठहरू, साबुनहरूको खोल स्वयं ती संस्थाले फिर्ता लैजाने सरकारले नियम ल्याउनुपर्छ । जुन व्यापारीको फोहोर, उही व्यापारीलाई सफाइ गर्ने मौका दिनुपर्छ । र, उनीहरूलाई कारबाही पनि गर्नुपर्छ । शारीरिक-आर्थिक-मानसिक स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्‍याउने प्लास्टिकवाला खाना नखाने अभियान नलाउँदा- चलाउँदा पनि केही बिग्रिँदैन ।

र, तत्कालका लागि फोहोर उठ्नुपर्छ । फोहोरमा फाेहोरी राजनीति गरिरहेका पदीय ढ्याकेहरूको अनुहार स्पष्ट चिन्नु र चिनाउनुपर्छ । फोहोर उठ्न नदिने दलका कार्यालय र ती नेताका घरघरमा फोहोरका पोलिथिन उपहार लिएर जान पनि ढिला गर्नुहुँदैन ।

आफूहरू ठूलो कम्पाउन्डमा बस्ने । महँगो गाडीमा सवार हुने । आफ्ना सन्तान, परिवार, कमाइ (कमिसन-घुससमेत) विदेशमा सुरक्षित गर्ने । अनि यहाँ गल्लीगल्लीमा फोहोरका रास थुपार्ने शासक-प्रशासकलाई सडकमा ल्याएर फोहोरमा मुन्टो गाड्न ढिला भइसकेको छ । नागरिक आन्दोलन खै ? नागरिकसित ठूलो शक्ति छ । फोहोरमा फोहोरी राजनीति गरिरहेका वडाप्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मका घर-घरतिर हजारौँ/लाखौँ नागरिक हातमा फोहोरका झोला बोकेर आन्दोलनमा निस्किन ढिला भइसकेको छ । गरिबको करमा रजाइँ गर्न पल्केका शासकहरू निदाएको अभिनयमा छन्, उनीहरूका नाकैमा फोहोर सुँघाएर अथवा मुखैमा फोहोर घुसाएर बिउँझाऔँ ।


Author

थप समाचार
x