सम्पादकीय

सम्पादकीय

हौसिएका ‘स्वतन्त्र’हरूलाई होसियारीपत्र

इकागज |
असार ६, २०७९ १६:२५ बजे

स्थानीय सरकार निर्वाचनमा केही पालिकामा स्वतन्त्र उम्मेदवारले जिते । स्वतन्त्रहरूको जितले खासगरी युवाहरू अनि दलहरूको कार्यशैलीबाट वाक्कदिक्क भएका आम नागरिक उत्साही बनेको देखिन्छ । आउँदो संघीय तथा प्रदेश चुनावका निम्ति देशैभर भइरहेको स्वतन्त्र उम्मेदवारीले ‘निर्दलीय माहौल’ बनाउने प्रयत्न देखिन्छ । युवाहरू दलविहीनतातिर किन आकर्षित भए ? दलविहीनताले के राम्रो वा नराम्रो गर्छ भन्ने प्रश्नमा घोत्लिनु आवश्यक छ । 

सबैभन्दा पहिले पहिलो प्रश्न– दलहरूमा किन आस्था टुट्यो ? यसको सुरुवात राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलको ट्वीटबाट गरौँ । उनी लेख्छन्, ‘बहुदल ल्याउन धेरै बाजे(बजै र बुवा(आमाले ज्यान जवानी र जेथा गुमाए । तर आज छोराछोरी र नाति(नातिनीले दल छोडेर स्वतन्त्र उम्मेदवार घोषणा गर्दैछन् । अधिकार छ जसरी पनि उम्मेदवार हुन तर दलमा हुनु भनेको सामूहिक नेतृत्व र जिम्मेवारी एवं उत्तरदायित्वको बाँडफाँड हो । किन दलप्रति युवाको चासो गएन'


गोविन्दराज पोख्रेललाई जवाफ दिँदै पत्रकार गोविन्द अधिकारीले लेखेका छन्, ‘तपाईंको दल अहिले पार्टीजस्तै छ ? उहिलेको कांग्रेसमा जसरी सामान्य कार्यकर्ताले नेतालाई नाम काढेर बोलाउन सक्छन् ? पार्टी परिवारजस्तो छ ? अनि किन नहोस् त वितृष्णा ?’ यसैमा लेखक विनोद सिजापति थप्छन्, ‘कुनै पनि पिँढी विगतमा बाँच्न चाहँदैन । नवआगन्तुकको प्रवेश निषेध गरेर मेरो पिँढीका दल नेता गण ‘गौरवशाली इतिहासलाई’ भजाएर भविष्य बर्बाद गर्दै छन् । भविष्यप्रति संवेदनशील व्यक्तिका लागि ‘स्वतन्त्र उम्मेदवारी’को अर्काे विकल्प छैन ।’

गोविन्दलाई डा. लूना भट्ट शर्मा यसरी जवाफ दिन्छिन्, ‘किनभने दलले युवालाई तुरुन्त अगाडि सार्न मिलेन, पोर्टफोलियो, काम गरेको वर्ष, जेल नेल, दुनियाँ हेर्छ, अहिले पनि । हालका युवा यी सब कुराबाट टाढा छन्, बढी प्राक्टिकल पनि छन् ।’

गोविन्द अधिकारी, विनोद सिजापति, लूना भट्ट शर्माको साझा निष्कर्ष छ— दलहरूमा युवाहरूलाई अघोषित प्रवेश निषेध छ । जहाँ पचासौँ वर्ष राजनीति गरिसकेका, पटकपटक प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर भइसकेका नेताहरू कार्यकारी छन्, त्यहाँ युवाले आफ्नो भविष्य देख्तैनन् । हजुरबा पुस्ताको छायाँमा रहेका निरीह र लोभी बाहरूको जवानी खेर गएको देखिदेखि नातानातिनी पुस्ता त्यही दलमा लाग्दैनन् । दलहरूले पुराना नेताहरूलाई बिदाइ गर्ने, युवाहरूलाई स्वागत गर्ने कार्यक्रम नल्याउँदासम्म युवाहरू ती पार्टीमा छिर्ने, भिड्ने सम्भावना छैन ।

अब लागौँ, एउटा दुइटा स्वतन्त्रहरूको जितले के फरक पार्दछ राजनीतिमा भन्नेतिर । 

स्थानीय सरकार नागरिकलाई सेवा दिने, आँगनमा रहेको सरकार हो । त्यहाँ बुहमतको खेल कमै हुन्छ । सरकार बनाउने र भत्काउने खेल पनि हुँदैन । एक हिसाबले स्थानीय सरकार गैरदलीय भएको राम्रो हो । 

तर, संघीय वा प्रादेशिक सरकार स्थानीय सरकार जस्तो होइन । २०५२–०५५ सालतिर प्रतिनिधि सभामा सात जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए । शक्तिशाली दलहरुलाई हराएर आएका ती सांसद प्रभावशाली छविका रुपमा प्रचारित पनि थिए । तर, पछि गएर तिनै सांसद सरकार बनाउने, भत्काउने खेलमा ‘की–मेकर्स’ भए । उनीहरू सरकार निर्माणको कम्पनीमा सेयर थापेर धनी भए । संसद् फोहोरी खेलमा डुब्यो । अब पनि निर्वाचित भएर आउने स्वतन्त्र सांसद जता मल्खु, उतै ढल्कु गर्दै पदलाई ‘बार्गेनिङ–टुल्स’ बनाउँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन । 

स्वतन्त्र सांसदहरू संसद्मा आलोचक भूमिकामा खरो उत्रिन्छन् रे । तात्विक फरक के हुन्छ त ? अहिले नि नेपाल मजदुर किसान पार्टी कति तथ्यपूर्ण र स्पष्ट भाषण गर्छ, ऊ कहिल्यै सरकारमा पनि जाँदैन । तर, कानुन निर्माण, सरकार निर्माणमा उनीहरूको भूमिकाको कुनै सम्मान हुँदैन । त्यसैले एकजुट भएर गएमा मात्र बढी प्रभाव देखिनेछ । यसको अर्थ यो होइन कि एक जनाको बोलीले केही फरक पार्दैन । एकेकको उपस्थिति र सहभागिता व्यर्थ छैन, अर्थ छ । 

स्वतन्त्र उम्मेदवारहरूले दल खोली संस्थागत सोचसहित चुनावी प्रतिस्पर्धामा होमिने हिम्मत गर्नुपर्छ । कानुन बनाउन, सरकार बनाउन एकजुट हुँदा मात्रै परिणाम निस्कन्छ । चुनावअघि युवाहरू एकजुट हुँदा सडेगलेको नेतृत्व लिएर बसेका पुराना र पतित पार्टीलाई पनि दबाब पर्छ । 
राम्रो काम एक्लै हुन्छ, एक्लै गर्छु भन्ठान्नु चरम व्यक्तिवादी सोच हो । चुनावअघि नै मिल्न नसक्ने एकलकाँटे, दल खोल्न नसक्ने डरछेरुवाहरूले राजनीतिमा दल अर्थात् विचार र कार्यक्रमसहितको संगठनको महत्व बुझ्नुपर्छ । 

स्थानीय सरकारमा बालेन शाह, हर्क साम्पाङ, गोपाल हमालहरूको जितबाट हौसिएर तातै खाऊँ, जल्दै मरुँ गर्नुको कुनै अर्थ छैन । स्थानीय तह र संघ–प्रदेशको शासकीय स्वरुप र कार्यशैलीबीच धेरै नै फरक छ । एउटाले मःम पसल वा चिया पसल वा अनलाइन मिडिया चलायो भन्दैमा हचुवामा विनातयारी त्यता लाग्नु बुद्धिमानी होइन ।

चुनावअघिको ‘अभिनय’ गर्ने समयमा समेत मिल्न नसक्नेले भोलि मिलेर काम गर्छन् भन्ने सोच्नु मूर्खता हो । फेरि रिटायर्ड भइसकेका, रिटायर्ड हुने उमेरमा कसैले राजनीतिबाट राम्रो गर्छ भन्ने पनि सोच्नु हुँदैन । किनकि भ्रष्टाचार र आचरणगत विसंगति राजनीतिमा मात्र छैन, पत्रकारिता, पुलिस प्रशासन, निजामती, कलाकारिता सबैतिर उत्तिकै छ ।

सहकार्य, सहमति, एकतालाई महत्व नदिने, टिमवर्कमा विश्वास नगर्ने, साझा नीति तथा कार्यक्रममा नलाग्ने, विचारसहितको संगठनको औचित्य नदेख्ने उम्मेदवारले जितेमा केही उत्पातै उपति गर्ने सम्भावना विगतको अनुभवले कतै देखाउँदैन ।

पुराना दल र नेताप्रतिको वितृष्णाबाट तर्सिएका मतदातालाई हामी नयाँ दल हौँ, हाम्रो नीति, सिद्धान्त, योजना, कार्यक्रम, यो यो हो भनेर मतदातालाई बुझाउने हिम्मत नहुनु विनातयारीको परीक्षामा सहभागी हुनु जस्तै हो । विनातयारीको जाँचमा पास हुने सम्भावनै कम हुन्छ, पास भइहालेमा मार्कसिटलाई चिठ्ठा ठानी महत्व पनि दिइँदैन । स्वतन्त्र उम्मेदवारले सांसद पदलाई चिठ्ठाको मालका रूपमा प्रयोग गरेको देख्दा मतदाताले भन्नुपर्नेछ, ‘स्वतन्त्र सांसद पनि कानै चिरेका ।’
 



Author

थप समाचार
ad
x