रङ्गमन्च

नाट्कर्मी लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार

इकागज |
बैशाख १९, २०७९ सोमबार १७:२४ बजे

काठमाडौं - दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले लम्साललाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कवि काइँलाले नेपाली सहित्यमा युवा सहभागिता उत्साहजनाक रुपमा रहेकाले साहित्यले मूल बाटो समात्न थालेको बताए । 
युवा जोस, जाँगर र अनुसन्धानले नै नेपाली साहित्यको फाँट हराभरा बनाउने उनको भनाइ छ । अघिल्लो पुस्ताले सुरु गरेका केही अभियान युवाले पूरा गर्नुपर्ने र नयाँ नयाँ आयामको ढोका खोल्नुपर्ने उनले बताए । 


कायक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपपूर्वकुलपति एवम् कवि डा विष्णुविभू घिमिरेले युवा अवस्था साहित्यका लागि उर्वर समय भएको बताए । ‘यसकारण पनि युवाले नै नेपाली साहित्यलाई निर्देश गर्नुपर्छ,’ उनले भने, ‘पुरु लम्साल युवा छ, सक्रिय छ र केही न केही गरिरहन्छ । उसको सक्रियता लोभलाग्दो छ ।’ यस्ता प्रतिभालाई बचाएर राख्नुपर्ने उनको सुझाव छ । 

लम्सालले नाटक मात्र नलेखेर अग्रज पुस्ताका लेखकको खोजी गरेर अहिलेको पुस्तामा चिनाउने काम पनि गरिरहेको घिमिरेले बताए । ‘अनि हरिभक्त फर्किएनन् वृत्तचित्र हरिभक्त कटुवाललाई अहिलेको पुस्तामा चिनाउने पुरुको एउटा उदाहरणीय कार्य हो,’ उनले भने । 

कार्यक्रममा वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन डा. दयाराम श्रेष्ठ सम्भवलाई र वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गरियो । देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार बाल साहित्यकार प्रभा भट्टराईलाई र बाल साहित्यकार रामदेव पाण्डेलाई प्रदान गरिएको छ । 

वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान, समालोचक डा. शैलेन्दुप्रकाश नेपालले पाएका छन् । त्यसैगरी, वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार कथाकार मातृका पोखरेल (२०७८) र कथाकार इल्या भट्टराई (२०७९) लाई प्रदान गरिएको छ ।

कार्यक्रममा व्यथित काव्य वनिताश्री पुरस्कार कवि मनोज न्यौपाने (२०७९)लाई तथा वनिता शिक्षा र साहित्य पुरस्कार शिक्षासेवी गायत्री श्रेष्ठ (२०७८)लाई प्रदान गरियो । 
वनिता बहुआयामिक प्रतिभा पुरस्कार मोहन अभिलाषीलाई (२०७९), वनिताश्री उन्नति गीतसंगीत पुरस्कार गायिका संगीता थापा शाक्य (२०७८)लाई र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगर (२०७९) लाई प्रदान गरिएको छ । 

वनिता विशेष वसुश्री–मधु पुरस्कार सञ्चारकर्मी भगवती बस्नेत (२०७८), वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार गायक जुजुकाजी रञ्जित (२०७८) र साहित्यकार धनकुटे कान्छा (२०७९)लाई, वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना नानीहरू र प्रिभा रेग्मी (२०७८ र २०७९ को संयुक्त)ले पाए । वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठ (२०७९) लाई प्रदान गरिएको छ । 

वनिता साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा समाजसेवी एवम् साहित्कार भद्राकुमारी घलेले शुभकामना मन्तव्य र प्राडा उषा ठाकुरले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम वनिता साहित्यिक त्रैमासिक पत्रिकाकी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीको अध्यक्षतामा भएको थियो ।


Author

थप समाचार
x