रङ्गमन्च

‘पल्पसा क्याफे' मा यस्तो देखियो दृश्य र पल्पसाको रोमान्स (फोटो कथा)

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ-  थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ  । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ । बिहीबार यसको विशेष प्रदर्शन गरिएको थियो ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गरेका छन् । विशेष सोमा नाटक हेर्ने सबैले सृष्टिको अभिनयको तारिफ गरेका थिए । यसैगरि दृश्यको भूमिका निर्वाह गरेका नाटक निर्देशक विमल सुवेदी पनि चरित्रमा सुहाएको टिप्पणी गरिएको थियो ।  भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन र डिजाइनमा ग्रयाजुएट सुवेदीले १० वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् ।


प्रेम र द्वन्दको सरोबरी मात्रा पस्कने नाटकले उपन्यासभन्दा पर रहेर बेपत्ता परिवारको मनोदशालाई सशक्त रुपमा प्रस्तुत गरेको छ । नाटकले मल्टिमिडियाको प्रयोगबाट द्वन्द्वको त्रासदीदेखि दृश्य र पल्पसाको प्रेमलाई जीवन्त तुल्याएको छ ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको  थियो। सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 


Author

थप समाचार
x