रङ्गमन्च

गुरुकुल थिएटरलाई अपारदर्शी ढंगले महानगरकाे ५० लाख रुपैयाँ अनुदान

अतिन आचार्य |
असार १८, २०७९ शनिबार १५:० बजे

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले नाटकघरहरूलाई कुस्त अनुदान दिने गरेको पाइएको छ । नाम, प्रभाव र सम्पर्कका आधारमा धेरै थिएटरहरूले ठूलो-सानो अनुदान लिएका छन् ।

थापागाउँस्थित नाटककार सुनिल पाेखरेलकाे आरोहण गुरुकुल नाटकघरलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बैठकले ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गर्‍यो । काठमाडौँ वडा १० मा रहेको गुरुकुल र महानगरबीच यसका लागि सम्झौता समेत भैसकेको छ ।


गत पुसमा आरोहणले  महानगरपालिकासँग फर्निचर खरिद गर्ने, नियमित नाटक मञ्चन गर्ने,  कार्यालयका माल सामान खरिद र घरभाडामा लिने भन्दै उक्त अनुदान सम्झौता गरेको हो ।

त्यसैगरी अर्को थिएटर मण्डला नाटक घरलाई मितिनी नाटक सञ्चालन गर्न महानगरले पाँच लाख रुपैयाँ दिने सम्झौता भएको छ । दुवै नाटक घरले सम्झौता अनुरूप पहिलो किस्ता स्वरुप रकम पनि लगिसकेका छन् । महानगरबाट गुरुकुलले २० लाख र मण्डलाले २ लाख रुपैयाँ लगेका छन् ।

महानगरको अनुदानका अतिरिक्त आरोहणले पनि नाटक अवधिभर ११ लाख २१ हजार ४ सय रूपैयाँ लगानी गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सरकारी निकायले कुनै पनि संघसंस्थालाई प्रत्यक्ष रूपमा घरभाडा तिर्नका लागि अनुदान दिन पाइदैंन । महानगरले नाटक घरलाई अनुदान दिए पनि यसको उद्देश्य अनुसार कला तथा संस्कृतिलाई प्रवर्द्धन गर्ने कुनै पनि बुँदा सम्झौतामा उल्लेख भएको पाइँदैन । सम्झौता हेर्दा नाटक घरलाई भवन, फर्निचर खरिदका लागि मात्र लगानी गरेको देखिन्छ ।

महानगरले आरोहणसँग गरेको सम्झौतामा पुसदेखि असार १५ गतेसम्म नाटक मञ्चन गरिसक्नुपर्ने छ । महानगरबाट उपलब्ध अनुदान रकमबाट आरोहणले १० जना प्रशिक्षार्थीलाई मासिक ६ हजार रुपैयाँ बढी दिएको छ । प्रशिक्षार्थी कलाकारलाई आवास, खाना, यातायात र प्रशिक्षण शूल्क दिने गरी सम्झौता गरिएको महानगरको सामाजिक विकास विभागले स्वीकार गरेको छ ।

पहिलो किस्ता स्वरूप २० लाख रुपैयाँ लिएको गुरुकुलले सम्झौता विपरीत विभिन्न भौतिक संरचना पनि बनाइएको छ । गुरुकुलले आफूले ११ लाख रुपैयाँ खर्च गर्ने भनेपनि अहिलेसम्म आफ्नो स्रोतबाट भने खर्च गरेको छैन ।

कला, संस्कृति प्रवर्धन, कलाकार उत्पादन र उनीहरूको क्षमता अभिवृद्धि गर्नु महानगरको कर्तव्य र कार्यक्षेत्र समेत भएकाले थिएटरहरूसँगको सम्झौता अनुरूप अनुदान उपलब्ध गराइएको सामाजिक विभागका प्रमुख दीपक अधिकारीले बताए । 

'सम्झौता पत्रमा भाडाको घर उल्लेख भए पनि दोस्रो पक्षले भाडा तिर्नको लागि अनुदान प्रयोग गर्न पाउँदैनन,' अधिकारीले भने, 'महानगरले कलाकारका लागि मात्र खर्च गरून् भनेर सहयोग गरेके हो । बिल भर्पाइ गर्दा अन्य शीर्षकमा देखाएको खण्डमा बाँकी रकम हस्तान्तरण हुनेछैन ।'

महानगरले आरोहण गुरुकुललाई दिएको रकम भाडा तिर्न वा भौतिक संरचनामा खर्च नपाउने व्यवस्था रहेको अधिकारी दाबी गर्छन् । 'सम्झौता सकिएको अन्तिम समयमा गलत प्रतिवेदन पेश भएमा कारबाहीको दायरामा ल्याउँछौ', उनले अगाडि थपे ।

कला, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्नु राम्रो भए पनि महानगरका अर्का अधिकारी भने ठूलो परिमाणमा एउटै संस्थालाई अनुदान दिनु व्यवहारिक रुपमा न्यायोचित नभएको बताउँछन् ।

महानगरबासीले तिरेको राजश्‍व एउटा संस्थालाई भारी रकम दिन नहुने उनले बताए ।  त्यस्ता नाटक घरबाट महानगरबासीले नि:शुल्क सिक्न वा नाटक हेर्न पाउनुपर्ने उनको तर्क छ ।

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्‍ठ महानगरबासीले तिरेको राजश्‍वप्रति महानगरबासी आफैँ सचेत हुनुपर्ने अवस्था आएको धारणा राख्छन् । कला, संस्कृतिको संरक्षण गर्नु महानगरको दायित्त्व भए पनि यस्ता संस्थालाई यति ठूलो अनुदान किन दिइएको हो त्यसको औचित्य पुष्टी हुनुपर्ने उनको भनाई छ।

'महानगरबासीले तिरेको राजश्‍व कसैका लागि मनलाग्दी खर्च गर्न तिरेका होइनन्', श्रेष्‍ठले भने', कसैले कलाकारीताको क्षेत्रमा योगदान गरे होलान त्यसको पनि मूल्यांकन हुनुपर्छ । त्यस्ता व्यक्तिलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ । महानगरबासीको राजश्‍व मनोरञ्जन घरमा जानुहुँदैन ।'

उनका अनुसार, पछिल्लो समय केही व्यक्तिहरू पहुँचको भरमा निवेदन पेस गरेर ठूलो रकम हात पार्ने अभियानमा सरिक छन् । सरकारले सक्दा अनुदान सहयोग दिनु राम्रो भएपनि त्यो कति न्यासंगत छ र औचित्य पुष्टी हुन्छ या हुँदैन भन्नेमा सम्बन्धित अधिकारीहरू जवाफदेही हुनुपर्ने उनले बताए ।  

आरोहण गुरुकुलका अध्यक्ष सुनील पोखरेलले महानगरसँग गरेको सम्झौता अनुसार कार्यक्रम गरेको दाबी गर्छन् । उनका अनुसार, ६ वटा नाटक उत्पादन र कलाकारको लागि खर्च गर्ने गरी रकम सम्झौता भएको हो र केही नाटक प्रर्दशन भइसकेको छ ।

'नाटक, कला र संस्कृतिलाई संरक्षण गर्न खोजेका हौ,' उनले भने,' महानगरभित्र पूर्वाधार विकास हुनुमात्र विकास होइन । कला संस्कृतिको संरक्षण पनि विकास महत्वपूर्ण पाटो हो ।'

त्यसैगरी आरोहणका व्यवस्थापक दिपेश भण्डारी महानगरपालिकाको अनुदान नाटकघरको भाडा र प्रोडक्सनमा खर्च हुने बताउँछन् । सहयोग रकमले नाटकमा उत्पादनमा खर्च गरिरहेको उनको दाबी छ ।  केही रकमले फर्निचर लगायतका अन्य सामग्री पनि खरिद गरेको उनले बताए ।

'नाटक सिक्ने प्रशिक्षार्थीलाई नि:शुल्क सिकाएका छौ । एक जनालाई ६ हजार बढी दिएका छौ', उनले भने', हाल महानगरको अनुदानमा नाटक सिक्‍ने १० जना छन् ।'

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरले कला संस्कृति, प्रवर्धन गर्न दिने यस्ता अनुदानका लागि बाँस्केट फन्ड बनाएर अनुदान दिदाँ कुन-कुन मापदण्डका आाधारमा अनुदान दिएकाे हाे भन्ने पारदर्शी बनाउनुपर्ने बताए । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x