रङ्गमन्च

विमल सुवेदीको ‘डिपार्टेड डन’लाई भारतमा तीन थिएटर अवार्ड

इकागज |
चैत १६, २०७९ बिहीबार १४:१८ बजे

काठमाडौँ - विमल सुवेदीको ‘डिपार्टेड डन’ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८ औँ मेटा अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने महिन्द्रा थिएटर एक्सिलेन्सी अवार्डमा ४ विधामा मनोनयनमा परेको नाटकले ३ विधाको पुरस्कार हात पारेको हो । निर्देशकसहित अभिनय, कोरियोग्राफी र संगीत विधामा मनोनयनमा परेको नाटकले निर्देशकबाहेकका तीन विधाका अवार्ड जितेको विमल सुवेदीले जनाएका छन् ।

भारतभर मञ्चन हुने नाटकहरूमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४ सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको थियो । यसरी छानिएका १० नाटक यही मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन भएका थिए ।


जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको बताएका थिए । उनले ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रुपान्तरण गरेको उनको भनाइ छ ।

विमलले यो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन् । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा मञ्चन भएको थियो । मञ्चन लगत्तै नाटकको उच्च प्रशंसा भएको र नाटक मञ्चनका लागि भारतसँगै बेलायतबाट पनि निम्ता आइसकेको विमल सुवेदीले जनाएका छन् ।

‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटरमा मञ्चन हुने भएको छ भने मुम्बईकै एनीपीएमा मञ्चन हुने भएको छ । भारतको ब्रिटिश काउन्सिलमा पनि नाटक मञ्चन हुने तय भइसकेको छ,’विमलले भने । उनले भोपालको संस्कृति मन्त्रालयमा पनि देखाउने इच्छा जाहेर गरेर आवेदन दिन आग्रह गरेको पनि बताएका छन् ।
विमल सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामाको हलमा मञ्चन भएको थियो ।


Author

थप समाचार
x