रङ्गमन्च

‘कुभिण्डोको कथा’को मञ्चनसँगै सकियो नाट्य महोत्सव

इकागज |
मंसिर १८, २०७९ आइतबार ११:१० बजे

काठमाडौं-  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण शनिबार सकिएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल १७ गते सकिएको हो ।

समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो ।मन्त्री शर्माले समाजमा भएका घटना र कथाहरुलाई प्रस्तुत सन्दर्भमा नाटक महत्वपूर्ण विधा रहेको बताए । उनले यस्तो महत्वपूर्ण क्षेत्रमा सरकारको पर्याप्त ध्यान नपुगेको र आगामी दिनमा सरकारले यो कमजोरी सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।  


शर्माले भने, ‘ यति महत्वपूर्ण क्षेत्रमा सरकारको आँखा पुगिरहेको छैन । यहाँहरूले आवश्यक सहयोग प्राप्त गर्नुभएको छैन जुन मैले महसुस गरेको छु ।’ ​मण्डला थिएटरकी निर्देशक सिर्जना सुब्बाले महोत्सव भव्य रुपमा सम्पन्न गराउने भूमिका खेल्ने देशी विदेशी पाहुनासँग नाट्यकर्मीलाई धन्यवाद दिइन् । सुब्बाले कोभिड १९ को लामो अन्योलपछि सुस्त रहेको रङ्गमञ्चलाई महोत्सवलाई चलायमान बनाउने अपेक्षा व्यक्त गरिन् ।

नाट्य महोत्सवको अन्तिम दिन ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । यसैगरी समापन कार्यक्रम अघि दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’को मञ्चन भएको थियो । महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास पनि सञ्चालन भएका थिए ।


Author

थप समाचार
x