रोग र उपचार

चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

इकागज |
पुस २२, २०७८ बिहीबार १६:५१ बजे

चितवन- जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो ।

यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ । अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन् ।


गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो । विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको जानकारी दिए ।

उनले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताए । उनले भने,'मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा उपचार गर्ने काम सफलतापूर्वक गरियो ।'

 हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उनको भनाइ छ । विभागमा डा आचार्यसँगै डा अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आएकाे छन् ।  कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभाग अन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाउँदै विभागका चिकित्सक, नर्सलगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे ।

उनले भने, 'यो टिमले छोटो समयमा सफलतापूर्वक एक सय शल्यक्रिया गरेको छ ।' उनले चितवनमा सिटिभिएस अन्तर्गतका महत्वपूर्ण शल्यक्रिया सफलतापूर्वक हुन्छन् भन्ने पुष्टि भएको बताए ।  रासस


Author

थप समाचार
x