रोग र उपचार

शहरी स्वास्थ्य केन्द्र जनकपुरधामको लथालिङ्ग अवस्था

कर्मचारी छन् उपकरण छैनन्, बिरामी जाँदा चिकित्सक भेटिँदैनन्

सुभाष कर्ण |
पुस १७, २०७८ शनिबार ८:३३ बजे

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवस्था लथालिङ्ग रहेको छ । नेपाल सरकारद्वारा २०७६ सालमा उपमहानगरपालिका-१८ महुवामा स्थापित सो स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिरामी उपचारका लागि जाँदा चिकित्सक भेटिँदैनन् । चिकित्सक भेटिए प्याथलोजी ल्याब, एक्सरेलगायत स्वास्थ्य सेवाकाे व्यवस्था छैन ।

नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोगहरू, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण प्रवर्द्धन, जेष्ठ नागरिकको स्वास्थ्य समस्याका लागि स्वास्थ्य, बहिरंग सेवा, महामारी नियन्त्रण तथा विपद् व्यवस्थापनलगायतका सेवाहरू सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकामा सो केन्द्र स्थापना गरिएको थियो, अवस्था लथालिङ्ग भएको कारण त्यहा बिरामी नै जाँदैनन् ।


हुनत ती स्वास्थ्य प्रवर्द्धन केन्द्र एक चिकित्सक, ल्याब असिस्टेन्ट, स्वास्थ्यकर्मी (एचए, अहेब) र कार्यालय सहयोगीलगायतका कर्मचारी कार्यरत छन् । कार्यालयमा प्रमुखको रूपमा डाक्टर रामकृष्ण साह, एचएद्वय दिलिप साह र बीरेन्द्र साह, ल्याब असिस्टेन्ट अमरेन्द्र साह, नर्सहरू रञ्जना साह, मिनु ठाकुर र रञ्जना यादव, कम्प्यूटर अपरेटर मेहरूम खातुन र कार्यालय सहयोगी शान्तिदेवी झालगायत ९ जना कर्मचारी कार्यरत छन् ।

आवश्यक सेवा सुविधा र व्यवस्थापन लथालिङ भएको कारण बिरामी नै पुग्दैनन्, कहिलेकाहीं मुश्किलले २/३ जना बिरामी मात्र पुग्ने गर्छन् । बिरामी नपुगे पनि कार्यालय रेकर्डका लागि फर्जी बिरामीहरूको नाम इन्ट्री गर्ने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए ।

बिरामी गए पनि कार्यालय प्रमुखसमेत रहेका चिकित्सक डा. रामकृष्ण साह नबस्ने गरेको कारण फर्किने गरेका छन् भने अत्यावश्यक भएका बिरामी स्वास्थ्यकर्मीबाट उपचार गराउने गरेको कार्यालयकै कर्मचारीहरू बताउँछन् ।

केन्द्रका कार्यालय सहयोगी झाले भनिन्, 'एक त यहाँ बिरामी नै आउँदैन आए पनि डाक्टर साहेब नियमित डियूटी समयसम्म नबस्ने गरेको फर्केर जाने गरेका छन्।' उनकाअनुसार कार्यालयमा ल्याब असिस्टेन्ट कर्मचारी कार्यरत छन् तर कुनै मेसिन वा सामाग्री नभएको कारण बसेरै नै तलब भत्ता खाने गरेका छन् । उनले भनिन्, 'एक्सरे मेसिन छ तर मेसिन चलाउने जनशक्ति नै छैनन् ।'

झाले थप्दै भनिन्, 'कार्यालय प्रमुख डाक्टर साह हप्ता दश दिनमा कहिलेकाही आउने आएर हाजिरी बनाएर फर्किने गरेका छन् । उहाँ अधिकांश समय आफ्नो निजी क्लिलनिकमै बिताउनु हुन्छ।'  कार्यालय प्रमुख मात्र होइन अधिकांश कर्मचारीहरू त्यहाँ बस्दैनन् मात्र कार्यालय सहयोगी र केही स्वास्थ्यकर्मीको भरमा संचालन हुँदै आएको छ ।

कर्मचारीहरू पनि काम नपाएर त्यतिकै बसेर तलब खाइ रहेका छन् । ल्याबको सामग्री उपलब्ध नभए पनि त्यसका लागि भर्ना भएका कर्मचारी अमरेन्द्र साह गत एक वर्षदेखि तलब खाइरहेका छन् । चौँथो तह ल्याब असिस्टेन्ट पदमा कार्यरत कर्मचारी अमरेन्द्र साहले यहाँ ल्याबका लागि अटो क्लेभ मात्रै उपलब्ध रहेको र अन्य उपकरणको भने अभाव रहेकोले आफू कामविहीन बनेर तलब खाइरहेको स्वीकार गरे ।

तलब खाए पनि कार्यालयमा बस्नु हुन्न भन्ने आरोपमा उनले भने, 'आफू काम नपाएर बेला बेलामा उपमहानगरले खटाएको ठाउँमा जाने गरेको छु । त्यही भएर कार्यालयमा अनुपस्थित हुने गरेको छु ।'

कार्यालयमा नबसी निजी क्लिनिकमा समय दिने गरेको स्थानीयको आरोपबारे खोजी सोधी गर्दा उनी प्रादेशिक अस्पताल अगाडि औषधि पसलमा सञ्चालित क्लिनिकमा उहाँ बिहानी ९ बजेदेखि ११ बजेसम्म र दिउंसो १ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेको पाइयो । यसबाहेक केही नर्सिंगहोमहरूमा समेत अन द कल डियूटीमा काम गर्ने गरेको पाइयो ।

यस सम्बन्धमा जिज्ञासा राख्दा डा. साहले ठाडो अस्वीकार गर्दै भने होइन कार्यालयमा बिहान १० बजेदेखि २ बजेसम्म ओपीडीमा बस्छु त्यस बाहेक मेरो निजी समय भएको कारण क्लिनिकमा बस्ने गरेको छु । जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य एकाइ शाखाले पनि सो केन्द्रको अवस्था लथालिङ्ग रहेको स्वीकार गर्दै कार्यालय प्रमुख डा. साहलाई सचेत गराउँदा पनि नमानेको बताए ।

स्वास्थ्य शाखा प्रमुख विजय साहले भने आवश्यक नीति नियम कानून र बजेट आभावको कारण अवस्था लथालिङ्ग हुन गएको हो । केन्द्रबाट कानुन बने पनि बजेट उपलब्ध छैन, स्थानीय स्तरबाट बजेट व्यवस्थापन गरे पनि प्राविधिक उपकरण उपलब्ध गराउन असमर्थ रहेको छ । उनले बिरामी नआउने गरेको कारण कर्मचारीहरू कार्यालय बस्दैन केहीलाई उपमहानगरपालिकाले अर्को काममा खटाउने गरेको बताए ।

कार्यालय प्रमुखसमेत रहेका चिकित्सक पनि नबस्ने गरेको भन्ने जिज्ञासामा स्वास्थ्य शाखा प्रमुखले भने, 'त्यो गुनासो हामी कहाँ पनि आइरहेको छ । उहाँको डियूटी बिहान १० बजेदेखि ५ बजेसम्मको हो आफूहरू अनुगमनमा समेत केही पटक अनुपस्थित देखिएपछि सचेत गराउँदा अटेर गर्दै आएको थियो, तर केहीदिन नियमित रूपमा गइरहेका सुनेको छु, कति समय बस्छन् बारे थाहा भएन ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x