रोग र उपचार

‘एलोपेसिया एरियाटा’: उपचार नगरे पनि असर गर्दैन

प्रा.डा. धर्मेन्द्र कर्ण |
पुस १५, २०७८ बिहीबार १२:३५ बजे

‘एलोपेसिया एरियाटा’को समस्या अहिले धेरैमा छ । कोभिड–१९को संक्रमणपछि अझै बढी यो समस्या बोकेर मानिस आउन थालेका छन् । एलोपेसिया एरियाटा भनेको कपाल झर्ने समस्या हो । यो समस्या जुनसुकै उमेर समूहका मानिसहरूलाई देखिन सक्छ । त्यस्तै, यो महिला–पुरुष दुवैलाई हुन्छ । एलोपेसिया एरियाटाका विभिन्न प्रकार हुन्छन् ।

उमेरको आधारमा बच्चा र वयस्कमा देखिने एलोपेसिया हुन्छ । त्यस्तै, कपालको कति भागमा असर गरेको छ त्यसको आधारमा पनि हुन्छ । कपालमा एक दुई ठाउँमा गोलाकार तरिकाले कपाल झर्छ भने त्यसलाई ‘एलोपेसिया एरियाटा’ भनिन्छ । कपालको पछाडिपट्टिको भागबाट झर्दै गएको छ भने त्यसलाई ओफियासिस (ophiasis) भनिन्छ । कसैको अगाडि कञ्चटबाट झर्न थाल्छ, त्यसलाई सिसिइफो (sisaipho) भनिन्छ । कसैकसैको ठाउँ–ठाउँमा झरेको हुन्छ त्यसलाई मल्टि फोकल एलोपेसिया (multifocal alopecia) भनिन्छ ।


धेरै ठाउँमा भएर थोरै कपाल मात्र बाँकी छ भने त्यसलाई एलोपेसिया एरियाटा सबटोटालिस (alopecia areata subtotalis)भनिन्छ । पूरै कपाल झरेको अवस्थालाई भने एलोपेसिया टोटालिस (alopecia totalis) भनिन्छ । त्योभन्दा पनि झनै बढ्दै गएर शरीरको सबै अंगको कपाल झर्छ भने त्यो एलोपेसिया युनिभर्सालिस (alopecia universalis) हो । यसमा आइब्रो, दाह्री, काखी, गुप्ताङ्ग आदि शरीरको सबै ठाउँको कपाल झर्न थाल्छ ।

एलोपेसिया एरियाटामा कपालको जरालाई शरीरले बाहिरिए तन्तु हो भनेर लिन थाल्छ । जसले गर्दा कपालको जरा वरपर रक्तकोषहरू माउरीको चाको जसरी जम्मा हुन थाल्छ । यसो हुँदा कपालको जरा कमजोर हुन्छ । र, कपाल टुक्रिने, झर्ने हुन थाल्छ । 

कपाल व्यक्तित्व र मानसिक तनावसँग जोडिएको समस्या मात्र हो । कपाल नहुँदा अरूले के भन्लान् भन्ने चिन्ताले मात्र धेरैले यसको उपचार गराउँछन् ।

यो समस्याको कारण यही हो भनेर ठ्याक्कै भन्न सकिँदैन । कसैको कपाल तान्ने बानी हुन्छ । यसको कारण पनि कपाल झर्छ । कपाल झर्ने समस्या तनावसँग पनि जोडिएको हुन्छ । प्रत्येक मानिसको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ । त्यो क्षमता चाहिनेभन्दा बढी हुँदा पनि कपाल झर्छ । एलोपेसियाले कपाल झर्नेबाहेक अन्य लक्षण देखाउँदैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता चाहिनेभन्दा बढी हुनाले योसँग विभिन्न रोगहरू भने जोडिन आउँछन् । बाथ, थाइराइड, सुगर, सेतो दुबी, एलर्जीजस्ता स्वास्थ्य समस्या देखिन सक्छ । कारण नै यकिन नभएकाले यसको रोकथाम गर्न सकिँदैन । स्वस्थ जीवनशैली अपनाउनु, शारीरिक व्यायाम गर्नु, कुनै पनि संक्रमणको शिकार हुनबाट जोगिनु नै यसको रोकथाम हो । 

यस्तो समस्या कसै–कसैलाई आफैँ निको भएर जान्छ । कसैलाई भने निको हुन्छ भन्दाभन्दै झन्–झन् बढ्दै जान्छ । टाउकोको एक–दुई ठाउँमा मात्र छ भने साधारण क्रिम लगाएर निको पार्न सकिन्छ । तीन ठाउँभन्दा बढी ठाउँमा छ भने इन्जेक्सनबाट उपचार गर्नुपर्छ । त्योभन्दा पनि बढी छ भने रगतको जाँच गरेर औषधिहरू खानुपर्ने हुन्छ । यसरी उपचार गरेको दुईदेखि छ महिनामा निको हुँदै जान्छ । कपाल उम्रिन थाल्छ । तर, कुन औषधिले कसलाई काम गर्छ थाहा हुँदैन । त्यसैले विशेषज्ञको सल्लाह लिएर मात्र त्यस्ता औषधि खानुपर्छ, जथाभावी खानुहुँदैन । कसैलाई एलोपेसिया एरियाटा छ वा उपचार गराउँदै हुनुहुन्छ भने डाक्टरको नियमित सर–सल्लाहमा बस्नुपर्छ । निको भयो भनेर एक्कासि औषधि खान छाड्नुहुँदैन । निरन्तर फलोअपमा बसिएन भने फेरि बल्झिन सक्छ । किनभने, औषधि खाँदाखाँदै मोटाउने, मधुमेह र थाइरोइडको समस्या उत्पन्न हुने हुन सक्छ । 

यसको उपचार बिरामीको उमेर, उसको शरीरमा भएको रोग, विवाहित वा अविवाहित, बिरामीको आर्थिक अवस्थालाई ध्यानमा राखेर विचार पुर्‍याउनुपर्छ । एलोपेसिया एरियाटा हुँदा चिलाउँदैन, दुख्दैन, पोल्दैन । यो नराम्रो व्यथा होइन । यसले नराम्रो केही गर्दैन । कसैलाई आफैँ निको हुन्छ । उपचार गर्ने क्षमता छैन भने उपचार नगराउँदा पनि हुन्छ । यो व्यक्तित्व र मानसिक तनावसँग जोडिएको समस्या मात्र हो ।

कपाल नहुँदा अरुले के भन्लान् भन्ने चिन्ताले मात्र धेरैले यसको उपचार गराउँछन् । यो समस्याले आफ्नो आत्मविश्वास कमजोर भएको महसुस हुन्छ भने बजारमा थरीथरीका विग (कृत्रिम कपाल) पाइन्छ, त्यो लगाउन सकिन्छ । 
(छाला तथा सौन्दर्य विशेषज्ञ डा. कर्णसँग गरिएको कुराकानीमा आधारित ।)


Author

थप समाचार
x