रोग र उपचार

धनगढी उपमहानरले सञ्चालन गरेको वडा क्लिनिकबाट ३३ हजारले पाए उपचार

इकागज |
बैशाख २०, २०८० बुधवार ११:८ बजे

कैलाली - धनगढी उपमहानपालिकाले सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकबाट ९ महिनामा साढे ३३ हजारले उपचार सेवा पाएको उपमहानगरले जानकारी दिएको छ । उपमहानगरले साउन १ गतेबाट हरेक महिना १९ वटै वडामा विशेषज्ञ वडा क्लनिक सञ्चालन गर्दै आएको छ।

विशेषज्ञ वडा क्लिनिकमा फिजिसियन र स्त्री रोग विशेषज्ञ चिकित्सक र प्रयोगशाला परीक्षण सेवा प्रदान हुँदै आएको छ। धनगढी उपमहानगरले तयार गरेको तथ्यांकमा साउनदेखि चैतसम्मको ९ महिनाको अविधिमा ३३ हजार ५ सय ६६ जना नागरिकको विशेषज्ञ वडा क्लिनिकमा स्वास्थ्य परीक्षण र उपचार गरिएको छ।


विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियनबाट सेवा लिने महिला सेवाग्राहीको संख्या ११ हजार ६ सय ४५ छ भने ४ हजार ५ सय १० पुरुषले जनरल फिजिसियनबाट सेवा लिएका छन्। 

त्यस्तै स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट ६ हजार १२६ जनाले उपचारसेवा प्राप्त गरेका छन्। यस्तै, आँखा रोग सम्बन्धी सेवा लिनेको संख्या १० हजार ३२० मा ७ हजार चार सय ४४ महिला र  दुई हजार ८७६ पुरुष रहेको उपमहानगरले जनाएको छ।

यसैगरी, विशेषज्ञ वडा क्लिनिकमा दाँत सेवा पनि प्रदान गरिएकोमा चैतसम्म ९ सय  ७९ ले उपचार सेवा लिएका छन्। जसमध्ये ६ सय ८२ महिला छन् भने २ सय ९७ पुरुष छन्। 

धनगढी उपमहानगरले विशेषज्ञ वडा क्लिनिकमा प्रयोगशाला सेवा पनि प्रदान गर्दै आएको छ। चैतसम्म प्रयोगशाला सेवा लिने सेवाग्राहीको संख्या ३ हजार चार सय ३४ पुगेको छ। जसमा दुई हजार ३७४ महिला र १ हजार ६८ पुरुष छन्।

वडा क्लिनिकबाट अल्ट्रासाउण्ड सेवा लिनेको संख्या दुई हजार २८४ रहेकोमा महिला दुई हजार २४६ र पुरुष ३८ जना रहेका छन्। यस्तै, इसिजी सेवा लिनेको संख्या एक हजार ३१८ रहेको छ। जसमा ९ सय ४७ महिला र ३ सय ७१ पुरुष छन्। विशेषज्ञ वडा क्लिनिकमा स्वास्थ्य सेवा लिने गर्भवतीको संख्या ३ हजार ३५ छ भने ७० वर्षभन्दा माथिका वृद्धवृद्धा एक हजार ७ सय ८४ जनालाई निःशुल्क स्वास्थ्य उपचार र औषधि प्रदान गरिएको उपमहानगरले जनाएको छ।

विशेषज्ञ वडा क्लिनिकमा उपचार, परामर्श र औषधि निःशुल्क प्रदान गरिँदै आएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए ।  उनले निम्न आय भएका उपमहानगरका जनतालाई घरदैलोमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले विशेषज्ञ वडा क्लिनिक संचालनमा ल्याएको बताए ।

ग्रामीण क्षेत्रमा पनि आधारभूत स्वास्थ्य सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उपमहानगरले विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो। विशेषज्ञ वडा क्लिनिकमा चेकजाँच गराउन आएका मध्ये चार हजार ७ जनालाई विभिन्न अस्पतालमा रेफर गरिएको उपमहानगरको तथ्यांक छ। रेफर हुनेमा दुई हजार ७८८ महिला र एक हजार २३४ पुरुष छन्।


Author

थप समाचार
x