रोग र उपचार

नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ : मन्त्री गिरी

इकागज |
माघ २३, २०७९ सोमबार १५:४० बजे

फाइल फोटो

झापा - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित  दशौँ विस्तारित भेलामा उनले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका हुन् ।  

'सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ', मन्त्री गिरीले भने, 'स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ।' स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गरे ।  ''पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ', मन्त्री गिरीले भने, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौँ ।'


भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी/कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताए । 

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । रासस


Author

थप समाचार
x