रोग र उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार नगरेपछि बिरामीले गुहारे प्रशासन

इकागज |
भदौ २२, २०७९ बुधबार १६:७ बजे

फाइल फोटो

जुम्ला - मुगु गमगढीका दानसिंह विक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको एक हप्ता भयो । आफ्नो छोरा नवराजको उपचारका लागि आएका उनी आफैं दम रोगी हुन् । छोराको उपचार नै नगरी अहिलेसम्म ४० हजार रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।

होटलको खाना र बासका कारण छोराको उपचारका लागि कसरी खर्च जुटाउने भन्ने चिन्ता उनलाई छ । डाक्टरले हाम्रो आन्दोलन छ भन्दै दिनप्रतिदिन उपचार नै नगरी बिरामी फर्काउने गरेपछि उनी जुम्ला प्रशासन पुगेका छन् । उनीसहित नौ जना बिरामीले उपचार नपाएको भन्दै प्रशासन गुहारेका छन् ।


चन्दननाथ-९ की मन्नु दमाई छाती दुख्ने समस्या लिएर प्रतिष्ठान पुगेकी थिइन् । प्रतिष्ठानका डाक्टरले आन्दोलन छ भन्दै उपचार गरेको बताउँछिन् । उनले भनिन्, ‘बिरामीलाई दुःख दिने काम भएको छ । हाम्रो स्वास्थ्यभन्दा डाक्टरको आन्दोलन ठूलो हो।’  उपचार नगर्ने डाक्टरलाई कारबाही गर्न माग गर्दै उनी पनि प्रहरी प्रशासन गुहार्न पुगेकी हुन् । 

२ भदौ बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वार्डमा डियुटीमा रहेका डा. करण साहले बालकलाई उपचार गर्न नमानेपछि विवाद भयो। तर ड्युटीमा रहेका डा.करण साहमाथि कुटपिट भएको भन्दै प्रहरीले धनबहादुर शाहीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

एसिया इन्टरनेसनल मोडेल इंग्लिस स्कुल, जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ का ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा.साहले बाल हिंसा गरेको भन्दै मुद्दासमेत दर्ता भएको छ । 

जुम्लाका नागरिकले डाक्टर साह र शाहीविरुद्ध परेको मुद्दामाथि अनुसन्धान भइरहँदा उपचार नगरेर सेवा बन्द गर्ने काम गरी तलब खाने गर्नुले सरकारी रकमको दुरुपयोग र जुम्लाका जनतामाथि अन्याय भएको भन्दै आन्दोलित भएका छन् । 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जुम्ली जनताले उपचार नपाएको विषय दुखद भएको बताइन् । उनले प्रतिष्ठानका पदाधिकारी र सरोकारवाला निकाय बसेर विवाद सुल्झाउन छलफल गर्दै आएको बताइन् । आफ्नो स्कुलमा  अध्ययनरत विद्यार्थीले उपचार नपाएको भन्दै एसिया इन्टरनेसनल मोडेल इंग्लिस विद्यालयका विद्यार्थी आन्दोलित बनेका छन्।   

इमर्जेन्सीबाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा

डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि चिकित्सक पनि आन्दोलित भएका छन् । प्रतिष्ठानबाट बाहिरिएको पहिलो सिसिटिभी फुटेजमा शाहीले डाक्टर कुटेको मात्रै दृश्य देखिन्छ । घटनाका आरोपित अहिले प्रहरी हिरासतमा छन् । केही दिनपछि दोस्रो सिसिटिभी फुटेज सार्वजनिक भएपछि पछिल्लो समय घटनाले अर्को मोड लिएको छ । डा.साह कुटिनुभन्दा अगाडिको सिसिटिभी फुटेज सार्वजनिक भएपछि डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा १३ भदौमा बाल अधिकार हननको मुद्दा दर्ता भयो ।

जिल्ला अदालत जुम्लाले डा।साहका नाममा २० भदौमा पक्राउ पुर्जी जारी गरेपछि झुट्ठा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएर मंगलबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारेका छन् । सबै उपचार सेवा ठप्प बनाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

 


Author

थप समाचार
x