रोग र उपचार

आँखाका ३५ नानी संकलन

इकागज |
साउन २५, २०७९ बुधवार १८:१५ बजे

फाइल फोटो

चितवन - नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो ।

कार्यक्रम हेर्दै आएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी संकलन हुन थालेको उनको भनाइ छ । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।


अस्पतालमा कर्निया रोग विशेषज्ञ डा पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार प्रत्यारोपण गरिएका बिरामीमध्ये आधा भारतीय हुन । सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ । भारतीय बिरामी पुनः परीक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अवस्था थाहा नभएको उनको भनाइ छ ।    

गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ । उनले भनिन् `मृत्युभएपछि जति छिटो नानी संकलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।` आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उनले बताइन् ।   

डा गिरीले भनिन्, `अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।` नानी निकालेपछि पुनः कृत्रिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ ।

यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगङ्गा काठमाडौँ पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनको भनाइ छ । आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् । आँखा बैंक स्थापनाका लागि जिल्लाका समाजसेवी भीमराज पाठकले रु एक करोड ५० लाख उपलब्ध गराएका छन् । सो रकमबाट आँखा बैंक स्थापना गर्ने तयारीमा अस्पताल लागेको छ ।  रासस


Author

थप समाचार
x