रोग र उपचार

तीन घण्टा लाममा उभिए, उपचार नपाएर फर्किए

इकागज |
साउन २२, २०७९ आइतवार २२:१ बजे

फाइल फोटो

बागलुङ - चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे । 

दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी जनरल सर्जन कहाँ पुगे । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए ।


भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिए । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उनले पालो त पाए तर ‘आज भिडियो एक्सरे हुँदैन’ भन्दै कर्मचारीले झ्यालबाटै फर्काइदिए । भिडियो एक्सरेलाई तोकिएको दैनिक ५० जनाको कोटा सकिएको भन्दै कर्मचारीले बिल काट्न नमानेको नेपालीले बताए ।

“यो कुरा हामीलाई पहिले भनिएन, पछि एक्कासि आज भिडियो एक्सरे हुँदैन भनेर फर्काए”, उनले दुःखेसो पोखे, `बर्सातको बेला महँगो भाडा तिरेर गाउँदेखि आइएको छ, उपचार नगराई कसरी फर्कनु, बजारमा बस्नलाई पैसा छैन ।`

चिकित्सकले सिफारिस लेखेर पठाएपछि भिडियो एक्सरे हुँदैन भनेर बिरामीलाई फर्काउनु अस्पतालको लापरबाही भएको नेपालीको भनाइ छ । उनीसँगै लाममा उभिएकी बागलुङ–१ की लीला कार्की पनि अस्पतालको अव्यवस्था देखेर बेचैन देखिइन् । टोकन लिँदा, टिकट बनाउँदा, चिकित्सक कुर्दा, बिल बनाउँदा र औषधि लिँदा ठूलो झण्झट बेहोर्नुपरेको उनले उल्लेख गरिन् । 

`दुई घण्टा भयो टिकट पाइएको छैन, डाक्टर भेटिने कहिले हो, उपचार पाउने कहिले ?`, कार्कीले भनिन् । कार्की स्त्रीरोग विशेषज्ञसँग स्वास्थ्य जाँच गराउन अस्पताल पुगेकी थिइन् । टिकट कक्षका कर्मचारीले पनि सेवालाई छिटोछरितो बनाउन नसकेकामा उनको गुनासो छ । 

बागलुङ–३ का तारा सापकोटा पनि छोरा देवेन्द्रको पेटको उपचारका लागि अस्पताल पुगेका थिए । उनले पनि छोराको भिडियो एक्सरे गर्न नपाएको बताए । `घण्टौँसम्म लाममा बस्न लगाएर पछि भिडियो एक्सरे हुँदैन भनेर फर्काइदिए`, उनले भने, `सेवा दिन सकिँदैन भने सुरुमै जानकारी दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न पाइँदैन ।`

उपचारका लागि घण्टौँसम्म लाम लागेका अरु बिरामी र उनीहरुका आफन्त पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्ट देखिन्थे । अस्पताल व्यवस्थापनले बिरामीको समस्यालाई अनदेखा गरिरहेको उनीहरुको गुनासो थियो । अस्पतालको रेडियोलोजी विभागका सहयोगी स्वास्थ्यकर्मी अजिता पन्तले दिनमा ५० जना बिरामीको मात्र भिडियो एक्सरे हुने गरेको जानकारी दिइन् । 

“पचास जनाभन्दा बढी बिरामी हेर्न डाक्टरले पनि भ्याउनुहुँदैन, पहिले टिकट काटेर पछि फर्काएको विषय हामीलाई थाहा भएन, त्यसको व्यवस्थापन टिकट कक्षबाटै हुनुपर्ने हो”, उनले भनिन् । अस्पतालमा रेडियोलोजिष्टका रूपमा डा प्रशुन घिमिरे कार्यरत छन् । उक्त विभागमा जनशक्ति कम भएकाले पनि बिरामीको चाप थेग्नै धौ धौको स्थिति छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले आइतबार यसै पनि बिरामीको चाप बढी हुने हुँदा व्यवस्थापनमा केही अपुगता भएको बताए । `जनशक्ति अभावको पुरानै समस्या छ, हामीले यो विषय पटकपटक सम्बन्धित पक्षसम्म पुर्‍याएका छौँ, तर सुनुवाइ हुनसकेको छैन`, उनले भने ।  

टिकककक्षमा हुने भीड र लाममा उभिनुपर्ने स्थितिको अन्त्यका लागि प्रविधिमा पोख्त र चुस्त जनशक्तिको प्रबन्ध गर्न लागिएको मेसु पोखरेलले बताए । उनले गण्डकी प्रदेश सरकारले दिएको नयाँ सफ्टवेयरमा अभ्यस्त हुन कर्मचारीलाई समय लागेकाले पनि सेवा प्रवाह छरितो हुन नसकेको बताए । 

`काउण्टरलाई सुधार गर्न योजना बनाएका छौँ, अब अहिलेको समस्या हट्छ, रेडियोलोजी विभागमा पनि जनशक्ति थप्नुपर्ने अवस्था छ, बिरामीको चाप यस्तै रूपमा बढ्दै जाने हो भने एकजना मात्र रेडियोलोजिष्टले भ्याउनै सक्दैन`, उनले भने, `अस्पतालप्रति जनविश्वास बढेर नै बिरामीको चाप बढेको हो, हामी सेवालाई अझ प्रभावकारी बनाउनतिर लाग्छौँ, भएका कमीलाई सुधार्छौँ ।`

उपप्रादेशिक तहको यस अस्पतालमा १६ विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृतको दरबन्दी छ । एघार विशेषज्ञ र चार जना मेडिकल अधिकृत मात्र अस्पतालमा कार्यरत छन् । तीमध्ये पनि अधिकांश छात्रवृत्ति करारका चिकित्सक छन् । रासस


Author

थप समाचार
x