रोग र उपचार

सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

इकागज |
असार १६, २०७९ बिहीबार १५:४ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७/८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो । 

रणनीतिमा  मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । 


नेपालमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो ।

रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ । 

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारकोे स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको समेत बताए । 

`अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्` मन्त्री खापुङले भने, `देशभर समतामूलक सेवा पुर्‍याउन आवश्यक  छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।`

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए । उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी  क्षेत्रमा जानै पर्नेमा जोड दिए । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए । उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए । 

`धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्” प्रमुख विषेशज्ञ यादवले भने, “निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्दछ ।`

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवद्र्धन गर्नका लागि रणनीति ल्याइएको बताइन् । 

महाशाखाका अस्पताल नर्सिङ प्रशासकवाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पुर्‍याउनका लागि रणनीति ल्याइएको बताए । रासस


Author

थप समाचार
x