रोग र उपचार

पोखरामा रगतको अभाव

इकागज |
जेठ ५, २०७९ बिहिवार २०:१५ बजे

फाइल फोटो

पोखरा - स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ ।

निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।


केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

सिर्जना विकास केन्द्रको आयोजना र रक्त सञ्चार केन्द्रको समन्वयमा पोखरा महानगरको मतगणना भइरहेको शहीदचोकस्थित उपत्यका नगर विकास समिति भवन अगाडि गरिएको कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भयो ।

क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वैशाख २६ गतेदेखि नियमित रक्तदान कार्यक्रम नहुँदा केन्द्रमा रगत अभावपछि आकस्मिक कार्यक्रम गर्नुपरेको बताए । अभावका समयमा व्यक्ति तथा संस्थाले कार्यक्रम आयोजना गरेर रगत उपलब्ध गराउनसमेत उहाँले आग्रह गरे । 

उनले भने, `मानिस स्थानीय चुनावमा व्यस्त भए, चुनावपछि पनि परिणाम कुर्दा सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगतको अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम भोलि पनि गर्छौं ।”`

रक्तसञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएकाले हाहाकारको अवस्था भने नरहेको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताए । 

सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गणतन्त्र दिवसका अवसरमा संस्था बर्सेनि खुला रक्तदान कार्यक्रम गर्ने गरे पनि अहिले रगत अभाव भएको जानकारी प्राप्त भएपछि नियमित कार्यक्रम अघि सारिएको बताए । 

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गरेको छ । 
रासस


Author

थप समाचार
x